आज घोडेजात्रा पर्व मनाईंदै, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं,चैत्र,१८-चैत्र कृष्ण औंशीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।

काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।

अर्को किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो ।

घोडेजात्राका दिन नेपाली सेनाले आज टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । घोडेजात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिसाच चर्तुदर्शीका रुपमा समेत लिइन्छ ।

काठमाडौंको टुँडिखेलमा बर्सेनि नेपाली सेनाले घोडेजात्राको आयोजना गर्दछ भने ललितपुरको पाटनमा आजैका दिन एक्लो घोडा दगुराएर घोडेजात्रा मनाइन्छ ।

समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ । त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रम अन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न परम्परागत घोडेजात्रा समारोह आयोजना गर्दैछ ।