काठमाडौं,मंसिर,४-दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार साँझ सम्पन्न भएको खेलमा चितवनले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो।
लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाएका थिए।उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका हुन्। कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० रनमा आउट भएका थिए । जेजे स्मित ४ रनमा अविजित रहेका हुन्।
बलिङमा चितवनका रिजन ढकालले २ र सोहिल तन्विरले एक विकेट लिएका थिए।त्यस अघि सोही मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाएका थिए।उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका हुन्। कप्तान कुशल मल्ल २१, सैफ जैब १५, दीपक बोहरा १०, डविड मलान ०, देव खनाल १४ र सोहिल तन्विर ५ रनमा आउट भएका थिए।अर्जुन साउद ८ रनमा अविजित रहेका हुन्।
बलिङमा लुम्बिनीका रुवेन ट्रम्पेल्मेनले सर्वाधिक ३ विकेट लिएका थिए।अभिषेश गौतम र गुल्बादिन नइबले २-२ विकेट लिएका हुन्।
आज सम्मको एनपिएलको खेलमा १०४ पटक चौका प्रहार भएका छन्,भने ७८ पटक छक्का प्रहार भएको नेपाल क्रिकेट एसोसियशन नेपालले जनाएको छ।

