अख्तियारको प्रमुख आयुक्तमा राई सिफारिस

फाईल तस्विर !!

काठमाडौं,पुष,५-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिस गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै राईलाई अख्तियार प्रमुखमा सिफारिस गर्ने निर्णय गरिएको हो।

संसद् विघटन भएपछि संवैधानिक आयोगबारे संसदीय सुनुवाई पनि हुँदैन। सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएको सिफारिस संसदमा दर्ता गराएको संसद सचिवालय स्रोतले जनाएको छ।  

कांग्रेस सभापति देउवाले नाम उपलब्ध गराएका पुर्व आईजिपी जय बहादुर चन्द पनि अख्तियारमा आयुक्त भएका छन्। यस अघि प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि पटक पटक छलफल भएको थियो।  

प्रधानमन्त्री ओलीको अध्यक्षतामा रहने ६ सदस्यीय संवैधानिक परिषदको बैठकमा तीन जनाको उपस्थितिले पनि सिफारिस गर्न सक्ने प्रावधान राखिएको छ। ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर संसोधन गरेसँगै राजनीतिक विवाद उत्कर्षमा पुगेको छ। 

सत्तारुढ नेकपाको स्थायी कमिटीले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका छैनन्। अध्यादेश ल्याएसँगै प्रधानमन्त्री ओलीले डाकेको परिषदको बैठकमा कांग्रेस सभापति देउवा सहभागी नभएपनि उनले सिफारिस गरेका चन्द अख्तियार आयुक्तमा सिफारिस भएका छन्।