सेवा प्रवाहका लागि रणनीती

नेपालगञ्ज,माघ,२१-

सहज र प्रभावकारी सेवा प्रवाहका लागि नेपालगञ्ज उपमहानगरपालिकामा आवश्यक रणनीती बनाइदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले जीआईजेड सीडीमुनको प्राविधिक सहयोगमा आगामी कार्य रणनीती तयार गर्न लागेको हो । समग्र क्षमता विकासमा जोड दिने गरि उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, शाखाप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यसँगको अन्तरक्रिया तथा परामर्शपछि सो तयारी गरिएको हो ।

स्थानीय विकास, सेवा प्रवाह, सुशासनको अभ्यास र प्रर्वद्धनमा अनुभव गरिएका समस्या र आगामी दिनमा अपनाइनु पर्ने रणनीतीमा केन्द्रीत समूहगत छलफलमार्फत सुझाव संकलन समेत गरिएको छ । उपमहानगरपालिकाबाट उपलव्ध सेवा र सविधामा विपन्न समुदायको सहज पहुँच वृद्धि गर्न सवल पक्ष, कमजोरी, अवसर र चुनौती पत्ता लगाई आवश्यक कार्ययोजना बनाइने भएको हो ।

जीआईजेडका परामर्शदाता अरुण रेग्मीले विकासमा स्पष्ट र साझा वुझाई तथा दिर्घकालिन योजनासहित कार्यान्वयन प्रक्रियामा जानुपर्नेमा जोड दिनु भयो । उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले दुरदर्शीताका साथ योजना बनाइनुपर्ने भन्दै सो अनुसारको तयारी भइरहेको दावी गर्नु भयो ।

यसैवीच नगरको समग्र विकासको कार्ययोजनाका लागि उपप्रमुख उमा थापामगरको संयोजकतवमा ६ सदस्यीय कार्य समूह बनाइएको छ । समूहको सदस्य सचिवमा शाखा अधिकृत गणेश न्यौपाने, सदस्यहरुमा दिपक वर्मा, मो अयूव सिद्धीकी, कौशल धोवी र इन्दिरा शाही रहनु भएको छ । समूहको लगत्तै वैठक बसी थप प्रक्रिया अघि बढाइने उप प्रमुख थापामगरले जानकारी दिनु भयो ।