जसपाका दुवै अध्यक्षको पत्र निर्वाचन आयोगद्वारा खारेज

काठमाडौं,जेठ,१९-निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्षको पत्र खारेज गरेको छ ।

मंगलबार अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले एक अर्कालाई पार्टीबाट निष्काशन गरेको भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोग बैठकले दुवै पत्र खारेज गर्ने निर्णय गरेको हो ।

पत्रमा दलहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७४ अनुसार प्रकृया नपुर्‍याएको भन्दै निवेदन खारेज गरिएको हो ।

प्रवक्ता श्रेष्ठका अनुसार उपेन्द्र यादव समूहलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ बमोजिम निवेदन लिएर आउन भनिएको छ ।

यस्तै महन्थ ठाकुर समूहलाई केन्द्रीय सदस्यहरुको पनि हस्ताक्षर ल्याउन भनिएको छ ।

यादवले आयोगमा केन्द्रीय कार्यकारिणी परिषदका बहुमत सदस्यको हस्ताक्षर पनि बुझाएका थिए भने ठाकुरले कारबाही गरिएको मात्र जानकारी दिएका थिए ।

यादव पक्षले ठाकुर सहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्र शुक्लालाई पार्टीबाट निष्काशन गरेको थियो भने ठाकुर समूहले पनि यादवलाई पार्टीबाट निष्काशन गरेका थियो ।

दुवै समूहले मंगलबार आयोगमा कारवाहीको ब्यहोरा जानकारी गराएका थिए ।