कुवेतको मौसमा खेल्न कठिन छ:प्रशिक्षक अलमुताईरी

काठमाडौं,जेठ,१९-सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपको लागि दोस्रो चरणको छनोट अन्तर्गत नेपालले भोलि (बिहीबार) चाईनिज ताईपेविरुद्ध खेल्दैछ ।

अरेबियन मुलुक कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्ने छन् । नेपाल र ताइपेबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

ताइपेविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । तर, ४५ डिग्री सेल्सियस माथिको कुवेतको गर्मी मौसमले नेपाली टोलीलाई सताएको छ ।

ताइपेसँगको खेल अघि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कुवेतको मौषममा खेल्न कठिन हुने बताउनुभयो ।

‘कुवेतको मौषममा खेल्न सहज छैन । दुबै टिमका लागि कठिन हुनेछ,’ प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताईरीले भन्नुभयो।

प्रशिक्षक अलमुताईरीले ताइपेविरुद्ध जित निकाल्दै एसिया कपमा छनोट हुने सम्भावना जीवित राख्ने लक्ष्य लिएको समेत बताउनुभयो।

‘हामी छनोटको चौंथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्न चाहन्छौं । त्यसैले हामीले भोलिको खेल जित्न चाहन्छौ,’ प्रशिक्षक अलमुताईरीले भन्नुभयो, ‘हामीले धेरै मैत्रीपूर्ण खेल पाएनौं । हामीसँग युवा टिम छ तर प्रतिभावान टिम र खेलाडी छन् । उनीहरुलाई हामीले जोड दिनुपर्छ ।’

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ ।

४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

चाईनिज ताईपेविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ ।नेपाल र ताइपे अहिलेसम्म दुई पटक भिडेका छन् ।पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २-० को बाजी मारेको थियो ।

ताइपेका प्रशिक्षक भोम का हुमले खेलमा मौषमको चुनौती सबैभन्दा बढी भएको बताउनुभयो।

‘हामीलाई यहाँको मौषम अनुकुल हुन कठिन भईरहेको छ । र, हाम्रो लागि मुख्य चुनौती मौषम हो,’ उहाँले भन्नुभयो।

प्रशिक्षक भोमले टिमको मुख्य खेलाडीहरु कोरोनाको कारणले टिममा सामेल नभएको तर नयाँ खेलाडीले आफुलाई प्रमाणित गर्ने समेत बताउनुभयो ।