लागु ओषधीविरुद्ध सन्देश फैलाउदै प्रहरी

खजुरा,असोज,२२-
बाँके प्रहरीले लागू औषधविरुद्ध सचेतना अभियान संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले खजुरा गाउँपालिकाको समन्वयमा आयोजना गरेको लागू औषध दुव्र्यसन ओसार पसार तथा सवारी दुर्घटनाविरुद्ध बृहत सचेतना कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सबैको सहकार्यमा न्यूनीकरणमा लाग्नु पर्ने बताए ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बढ्दो लागू औषध दुरुपयोगविरुद्ध खजुरा गाउँपालिका सक्रियताका साथ लाग्ने बताउँदै परिवार, विद्यालयका शिक्षक, अभिभावक सबैको सहकार्यमा यसलाई नियन्त्रण गर्न सकिने उल्लेख गरे । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लागू औषध विरुद्धको अभियानमा आफ्नो सक्रिय भूमिका रहने बताए ।

कार्यक्रममा नाटकमार्फत पनि सन्देश दिइएको थियो । लागू औषध दुव्र्यसन मानिसका लागि निकै हानिकारक रहेछ । साथीको लहलहैमा लागेर होस् या कुनै लतमा यसको प्रयोगले जीवन बर्वाद पार्ने काम गर्छ सोमबार खजुरामा भएको कार्यक्रममा यस्तै कुरा भन्दै थिए पूर्व लागू औषध प्रयोगकर्ता नेपालगन्जका वीरबहादुर पुन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, बाँकेका प्रहरी प्रमुख अरुण पौडेललगायतका वक्ताहरु सहभागी उक्त कार्यक्रममा वीरबहादुर मञ्चमा उकलिँदा सबैको ध्यान उनीतिरै केन्द्रित भयो । कार्यक्रम संचालक जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले उनलाई आफ्नो अनुभव र सन्देश दिन मञ्चमा बोलाएपछि भाषणमा धेरै ध्यान नदिने दर्शकले उनका कुरामा निकै रुची राखेर सुने ।

उनले आफ्नो विगत खुलेरै राखे र भने, म एउटा असल विद्यार्थी थिएँ एसएलसीसम्म ७० प्रतिशतभन्दा बढी अंक थियो । दशजोड २ मा अलि कम भयो र अगाडि कलेज पढ्दासम्म निकै कमजोर भयो कारण लागूऔषधको कुलत थियो ।’ ठूलो संख्यामा खजुरा क्षेत्रका विद्यार्थीको समेत सहभागी रहेको उक्त कार्यक्रममा लागूऔषधको कूलतमा बिग्री सकेको आफुलाई पुनः स्थापना केन्द्रमा राखेर ६ महिनामा सुधार आयो ।

उनले भने, मलाई घरबाट थाहा नदिएर पुनः स्थापना केन्द्रमा लगियो थाहा पाएको भए म भाग्न सक्थे तर, पहिलो बुवा आमासंग कुरा गरेर सहमत भएपछि एक्कासी आएर पुनः स्थापनामा लगियो त्यसैले आज जीवन फेरिएको छ । उनले कसैले पनि लागू औषधको कुलतमा फस्न नहुने सन्देश दिएका छन् । लागू औषध प्रयोग गर्ने समयमा प्रहरी देख्न वित्तिकै भाग्नु पर्ने अवस्था सृजना हुन्थ्यो मनमा डर त्रास हुने गर्दथ्यो अहिले संगै अभियानमा हिडेको छु उनीहरु त साथीभाई जस्ता रहेछन् ।

लागू औषधको कुलतमा जसरी फसे पनि मानिसलाई परिवारबाट अपहेलना, समाजबाट घृणा, स्वास्थ्य शिक्षा सबै चौपट हुने भन्दै यसमा नलाग्न सुझाव दिन्छिन् नेपालगन्जकी हिमानी शाह । उनले आफुले चुरोट, गाँजा हुँदै ब्राउन सुगरसम्म प्रयोग गरेको बताउँदै भनिन्, यसले राम्रो गरेन म परिवर्तन हुन चाहन्छु ।

उनले बाँकेमा पुरुषका लागि पुनः स्थापना केन्द्र भए पनि महिलाका लागि नभएकाले त्यसतर्फ सोच्न सरोकारवाला निकायलाई आग्रह गरिन । लागू औषधले मानिसको शारिरीक, आर्थिक, सामाजिक रुपमा मात्र सखाप पार्दैन ज्यान लिने, दीर्घरोगी भएर बाँच्न पर्ने वा जेल बस्नु पर्ने हुन्छ त्यसैले यस्तो काममा कोही नलागौं परिवर्तन समूह नेपालगन्जकी संयोजक इन्द्रा जिसी भन्छिन् । उनले बाँकेमा करीब २ हजार २ सयको संख्यामा लागू औषध प्रयोगकर्ता भएको बताइन ।