दलहरुलाई उम्मेदवार छान्ने चटारो

 काठमाडौं, असोज १०-

स्थानीय तह निर्वाचन सम्पन्न भएलगत्तै दलहरु आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा जुटेका छन् ।दलहरु अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यमा लागेका छन् ।

प्रमुख दलमात्र नभइ अन्य दल पनि मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेका छन् ।प्रमुख दलहरुले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न स्थानीय तहका कमिटीलाई निर्देशनसमेत दिइसकेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसले असोज १७ गतेभित्र सम्भावित उम्मेदवारको नामावली पठाउन साताअघि नै तल्लो इकाईलाई निर्देशन दिइसकेको छ ।

कांग्रेसले उम्मेदवारको नाम सिफारिस गर्दा निरन्तर क्रियाशील सदस्यता कायम रहेको, लोकप्रिय र स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी बनाउन क्रियाशील भूमिका निर्वाह गर्नेलाई प्राथमिकता दिने मापदन्डसमेत बनाएको छ ।

उम्मेदवार सिफारिस गर्दा प्रतिनिधिसभा र प्रदेशका लागि एक निर्वाचन क्षेत्रबाट महिलासहित बढीमा तीनजनाको नाममात्रै सिफारिस गर्न कांग्रेस केन्द्रीय कार्यसमितिले मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि यसअघि नै उम्मेदवार सिफरिसका लागि मातहतका कमिटीलाई निर्देशन जारी गरिसकेको थियो ।आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले स्थायी समितिलाई उम्मेदवार छनोटको मापदन्ड बनाउने अधिकार दिएको थियो ।

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले आगामी निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउने गरी निर्वाचनको तयारी सुरु भइसकेको जानकारी दिए ।

एमालेले यसअघि नै स्थानीय तहको चुनावमा उम्मेदवार बनेका व्यक्तिहरू प्रदेश र प्रतिनिधिसभाका लागि पुनः आकांक्षा देखाउन नपाउने मापदन्ड बनाइसकेको छ ।

यस्तै, सत्तारुढ दलको एक घटक माओवादी केन्द्रले पनि उम्मेदवार चयनको कामलाई तीव्रता दिएको छ ।जिल्ला तहबाट सर्वसम्मत् नाम पठाउने सहमति नभए तीनजनाको सिफारिस गर्न निर्देशन दिएको माओवादी केन्द्रले जनाएको छ ।

असोज १६ गते बस्ने बैठकले जिल्लाबाट सिफारिस भएका उम्मेदवारको नाम अन्तिम टुगो लगाउने माओवादी केन्द्रको तयारी छ ।

प्रमुख दलहरुमात्र नभइ अन्य दलहरुलेसमेत आगामी निर्वाचनका लागि उम्मेदवार छनोटका लागि छलफल सुरु गरिसकेका छन् ।निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउन असोज २९ गतेसम्मको समय दिएको छ ।

यस्तै, आयोगले कात्तिक ५ मा पहिलो चरणको र १६ मा दोस्रो चरणका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।ईमेजखबरबाट