१०४ दिन पछि गोर्खाल्याण्ड आन्दोलन स्थगित

दशैं, तिहारलाई ध्यानमा राखेर आन्दोलन फिर्ता

नयाँ दिल्ली, असोज ११-

विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जीलिङ बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन्।

भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन्।

दार्जीलिङ बन्द स्थगित भएपछि पहाडकी रानी भन्ने नामबाट परिचित दार्जीलिङ र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि पहिलाजस्तै सामान्य र सुचारु भएको छ।

पश्चिम बंगालबाट दार्जीलिङ र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य – गोर्खाल्याण्डको स्थापना हुनुपर्ने मुख्य माग राख्दै गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा एकसय दिनभन्दा बढीसम्म लगातार जनआन्दोलन चलिरहेको थियो।

गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता बिमल गुरुङले पार्टीका अन्य नेताहरुसँग सल्लाह गरी एक रेडियो वक्तव्यमार्फत् अनिश्चित कालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ताको घोषणा गरेका जनाइएको छ।

दशैं तिहारजस्ता ठूला चहाड, पर्वलाई ध्यानमा लिई सामाजिक शान्ति र सद्भाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ।

गत मंगलवार केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले आन्दोलनरत नेताहरुलाई ‘प्रजातान्त्रिक राष्ट्रमा जस्तोसुकै गम्भीर राजनीतिक समस्या पनि वार्ताद्वारा समाधान निकाल्न सकिने’ भन्दै आन्दोलन र बन्दका कार्यक्रम फिर्ता लिन आह्वान गरेका थिए। एकसय चार दिनदेखि चल्दै आएको बन्दले त्यहाँको जीवन कष्टकर बन्दै आइरहेको थियो।

आन्दोलन र बन्दको अवधिमा हिंसा भड्किँदा एघार जनाको ज्यान गएको र थुप्रै सङ्ख्यामा आन्दोलनकारीहरु घाइते भएका थिए। आन्दोलनका कारण ब्यापारिक र पर्यटकिय गतिविधि ठप्प हुँदा दार्जीलिङले ठूलो आर्थिक क्षतिसमेत बेहोर्नु परेको थियो। रासस/सिन्ह्वा