वीरगन्ज महानगरपालिकाको मेयरमा फोरम नेपालका सरावगी विजयी

वीरगन्ज, असोज ११-

प्रदेश नम्बर–२ मा भएको स्थानीय तह निर्वाचनअन्तर्गत् पर्साको वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

प्रदेश नम्बर–२ को एकमात्र महानगरपालिका वीरगन्जमा फोरम नेपालका मेयर पदका उम्मेदवार विजय सरावगीले नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीलाई पछाडि पार्दै विजय हासिल गरेका हुन् ।

बुधबार सार्वजनिक मतपरिणामअनुसार सरावगीले १९ हजार ३९३ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी द्विवेदीले १७ हजार १९७ मत ल्याएका छन् ।

तेस्रो स्थानमा सीमित भएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका राजेशमान सिंहले १२ हजार १६५ मत प्राप्त गरेका छन् ।

नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव ८ हजार ७०१ मतका साथ चौथो स्थानमा रहे । नेकपा एमालेका बसरुद्धिन अन्सारी ८ हजार ६८८ मतका साथ पाँचौं स्थानमा रहे ।

नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ८ हजार ३०५ मतका साथ छैटौं भएका छन् ।उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन् । कार्कीले निकटतम् प्रतिस्पर्धी फोरम नेपालकी पिंकी यादवलाई हराएकी हुन् ।

कार्की १९ हजार ६०७ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी फोरम नेपालकी यादवले १८ हजार ५३० मत प्राप्त गरिन् ।

उपमेयरमै राजपाकी रम्भा मिश्राले १० हजार ६६३, एमालेकी सोफिया आचार्यले १० हजार ३४१, लोकतान्त्रिक फोरमकी रिंकुदेवी यादवले ७ हजार ५८६ र माओवादी केन्द्रकी दुर्गा क्षत्रीले ५ हजार २८ मत प्राप्त गरिन् ।

को हुन् मेयरमा निर्वाचित विजय सरावगी ?
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एंव नेपाल उद्योग वाणिज्य महासंघको दुईपटक केन्द्रीय सदस्यसमेत रहिसकेका सरावगी गत चैत ६ गते फोरम नेपालमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गरेलगत्तै फोरम नेपालले उनलाई मधेस–प्रदेशको कोषाध्यक्षको जिम्मेदवारी दिएको थियो ।

को हुन् उपमेयरमा निर्वाचित शान्ति कार्की ?
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेकी शान्ति कार्कीले १७ वर्षको उमेरदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी थिइन् ।

८७ वर्षीया कार्कीलाई राजनीतिमा लागेको सात दशकपछिमात्रै पार्टीले स्थानीय तह निर्वाचनमा उपमेयरको उम्मेदवार बनाएको थियो ।

सात दशकदेखि राजनीतिमा लागेपनि कुनै लाभको पद नलिएकी कार्कीलाई पार्टीले स्थानीय तह निर्वाचनमा उपमेयरको उम्मेदवार बनाएलगत्तै उनको पक्षमा जनमत बन्दै गएको थियो ।

वीरगन्जका १२ ओटा वडामा फोरम नेपाल र १० ओटा वडामा कांग्रेस विजयी वीरगन्ज महानगरपालिकाका कुल ३२ ओटा वडामध्ये फोरम नेपालले सबैभन्दा बढी १२ ओटा वडामा जित हासिल गरेको छ ।

यस्तै, कांग्रेसले १० ओटा वडामा, नेकपा एमालेले पाँचओटा वडामा, राजपाले तीनओटा वडामा, माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले एक/एकओटा वडाको अध्यक्षमा जितेका छन् ।

कुल एक लाख ८ हजार ५०१ मतदाता रहेको वीरगन्ज महानगरपालिकामा असोज २ गते भएको निर्वाचनमा ८४ हजार १६० मत खसेको थियो । ईमेजबाट