नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण, एकैदिन ६६४ जना निको भए

काठमाडौं,असार,१८-नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४८ दिने शिशुको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो ।

श्वास–प्रश्वासमा समस्या आइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका शिशुको बुधबार मृत्यु भएको थियो ।ती शिशुमा जन्मजात नै श्वासनलीमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बिहीबार नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिनुभयो ।

अस्पताल भर्ना भएपछि शल्यक्रिया गर्नुअघि ‘पीसीआर’ परीक्षण गर्दा शिशुमा कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । पछिल्लो २४ घन्टामा १०९ महिलासहित ४७३ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमित १४ हजार ५१९ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

नेपालमा पछिल्लो २४ घन्टामा ६६४ जना विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ भएका जनाइएको छ ।योसँगै अहिलेसम्म पाँच हजार ३२० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् ।हाल देशभर ३८ हजार १०९ जना ‘क्वारेन्टिन’मा रहेका छन् ।

१० हजार १३७ जना ‘आइसोलेसन’मा रहेका छन् ।पछिल्लो २४ घन्टामा चार हजार ५३७ ओटा पीसीआर परीक्षण भएको छ । अहिलेसम्म दुई लाख ३३ हजार ७ सय ६४ ओटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।