८ महिनामा व्यापार घाटा ७ खर्ब १४ अर्ब

काठमाडौं चैत २९-

चालु आर्थिक वर्ष (आव) को ८ महिने अवधिमा नेपालको कूल व्यापार घाटा ७ खर्ब १३ अर्व ९४ करोड रुपैयाँ देखिएको छ। ७ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयत गरेको नेपालले ५३ अर्ब ४२ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कले देखाएको हो।

चालु आवको आठ महिनामा आयात तथा निर्यात दुबै बढेको देखिएको छ। कूल वस्तु निर्यात १०.८ प्रतिशतले बृद्धि भई ५३ अर्ब ४२ करोड पुगेको छ। गन्तव्यका आधारमा भारततर्फ ९.८ प्रतिशत, चीनतर्फ ६२.० प्रतिशत र अन्य मुलुकतर्फ ९.१ प्रतिशतले निर्यात बढेको छ।

वस्तुगत आधारमा अलैंची, जुटको बोरा, धागो, पोलिष्टर यार्न लगायतका वस्तुको निर्यात बढेको छ भने जिआई पाईप, जुस, उनी गलैँचा, पस्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ।

आठ महिनामा कूल वस्तु आयात २२.१ प्रतिशतले बढेर ७ खर्ब ६७ अर्ब ३६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४.२ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२.३ प्रतिशत, चीनबाट भएको आयात २२.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २१.३ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा आर्थिक वर्ष २०७४÷७५ को आठ महिनामा पेट्रोलियम पदार्थको आयात रु एक खर्ब ६० करोड, खाद्य पदार्थ तथा जीवित जनावर ९७ अर्ब ५ करोड र यातायातका साधन तथा पार्टपुर्जाको आयात ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।

भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा बृद्धि भएको छ।

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाह भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा बृद्धि भएको छ।साभार नेपालखबरबाट