भारतीय चन्द्रयान-२ सम्पर्कविहीन

वैज्ञानिकहरुलाई हतोत्साहित नहुन प्रधानमन्त्री मोदीको आग्रह

भारत,भाद्र,२१-

भारतले चन्द्रमामा पठाएको विक्रम नामक चन्द्रयान-२ सम्पर्कविहीन भएको छ।चन्द्रमाको सतहमा पुग्न केही किलोमिटर बाँकी रहँदा चन्द्रयानको सञ्चार सम्पर्क टुटेको हो।चन्द्र सतहभन्दा २ दशमलव १ किलोमिटर नजिक पुगेपछि चन्द्रयानको पृथ्वीमा रहेको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको सिएनएनले जनाएको छ।

भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) अध्यक्ष के सिभानले चन्द्रयानसँग सम्पर्क टुटेको पुष्टि गर्दै यस बारे सूचनाहरूको विश्लेषण भईरहेको जानकारी दिनुभयो।भारतीय चन्द्रयान गए राती भारतीय समय अनुसार १:५५ बजे चन्द्र सतहमा अवतरणको तयारीमा थियो।

भारतको बेङ्लोरस्थित नियन्त्रण कक्षमा बसेका वैज्ञानिकहरु विक्रमको सहज अवतरणको प्रतीक्षा गरिरहँदा यानसँगको सम्पर्क टुटेको हो।भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला बढाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेंग्लोरमा रहेको इसरोको मुख्यालय पुग्नु भएको थियो ।

अचानक विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि वैज्ञानिकहरु निरास भएका थिए।विक्रम ल्याण्डरसँगको सम्पर्क टुटेपछि प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई हतोत्साहित नहुन आग्रह गरेका छन्।मोदीले वैज्ञानिकहरुलाई हौसला दिँदै भने, ‘जीवनमा उतार–चढाव आइरहन्छ। मैले कम्युनिकेसन अफ भैरहेको देखेको थिएँ। तर यो पनि सानो उपलब्धि होइन, देश तपाईँहरुप्रति गर्व गर्दछ।

तपाईँहरुको मेहनतले धेरै कुरा सिकाएको पनि छ। मेरो तर्फबाट तपाईँ सबैलाई धेरै बधाई छ। तपाईँहरुले देश र विज्ञानको सेवा गर्दै हुनुहुन्छ। म पूर्ण रुपमा तपाईँहरुको साथमा छु।मोदीले वैज्ञानिकहरुलाई आगामी दिनमा पनि अन्तरीक्ष कार्यक्रम जारी राख्ने बताउनु भएको छ ।