‘अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण किशोरी पक्षले पेस गर्न सकेन’

काठमाडौं,कार्तीक,१७-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोगमा आजबाट थुनछेक बहस सुरु भएको छ ।

थुनछेक बहसको पहिलो दिन बुधबार काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका वकील मुरारी सापकोटाले बताउनुभयो ।

उहाँले जबरजस्तीकरणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न नसकेको बताउनुभयो ।

उहाँले पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्नेबारेमा पनि वकालत गरेको बताउनुभयो ।

उहाँले आफूहरुले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको पनि बताउनुभयो । नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्मदर्तालाई नै आधार मान्नुपर्ने कुरामा जोड दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज विशेष गरी प्रतिवादीको तर्फबाट काठमाडौं जिल्ला अदालत समक्ष हामीले दुई वटा विषयवस्तु जोडदार रुपमा उठायौँ । पहिलो कुरा जुन जबरजस्तीकरणीको वारदात भयो भनेर अभियोग आएको छ, त्यो अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न सकेको अवस्था छैन भन्ने विषय हामीले उठायौँ ।

पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर कुनलाई मान्ने, जन्मदर्तालाई मान्ने वा नागरिकतामा भएको उमेरलाई मान्ने, किनभने नागरिकता पछि बनेको कागज भयो । जन्मदर्ता मौकामा बनेको कागज भयो । नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आम प्रचलन छ ।

त्यसले गर्दा हाम्रो जोड जन्मदर्तालाई नै आधार मान्नुपर्छ भन्ने जोड रह्यो ।’बुधवारबाट शुरु भएको थुनछेक बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ ।