छ लाख घुससहित कार्यालय प्रमुख पक्राउ

कञ्चनपुर,कार्त्तीक,२४-

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले आज जिल्ला प्राविधिक कार्यालयका प्रमुख (डिई) केदार शर्मालाई रु छ लाख घुसको रकमसहित पक्राउ गरेको छ ।

प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट नगद रु छ लाखसहित रु १४ लाखको चेकसमेत नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले जनाएको छ । उक्त चेक नेपाल बंगलादेश बैंकको नाममा रहेको बुझिएको छ ।

घुसको रकमसहित कर्मचारी नियन्त्रणमा लिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगर कञ्चनपुरका निमित्त प्रमुख विष्णुसिंह विष्टले भने “अहिले घटनास्थलमा मुचुल्का हुँदैछ ।”

“घटनाको विस्तृत विवरण केही समयपछि सार्वजनिक हुन्छ,” विष्टले भने “शर्मा र पाण्डेयले निर्माण व्यवसायीबाट उक्त घुस लिइएको प्रारम्भिक जानकारी आएको छ ।” रासस