संविधान संशोधन विधेयक आज संसदमा पेश गरिँदै

काठमाडौं,जेठ,१८-सरकारले आज संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश गर्ने भएको छ । आज विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गरिने छ ।

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।

नेपालको नक्शामा उल्लेखित अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गराई संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय समितिले संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो । राजपाबाहेक संसदमा रहेका सबै दलले संविधान संशोधनमा समर्थन जनाउने निर्णय गरेका छन् ।

मधेश केन्द्रित दल राजपा र समाजवादी पार्टीले भने संविधान संशोधन गर्न लागेका समयमा आफूहरुले उठाउँदै आएका संशोधनको विषय पनि एकमूष्ठ रुपमा संलग्न गराउन माग गर्दै आएका छन् । सरकारले भने यो नितान्त भूगोलको अन्तर्राष्ट्रिय सिमानासँग जोडिएको विषय भएकाले अरु विषय मिसाउन नसकिने बताएपछि राजपा नेताहरु संविधान संशोधनको अलग्गै प्रस्ताव दर्ता गराउन खोजेका थिए । तर संसद सचिवालयले संविधान संशोधन जस्तो विषय निजी विधेयकका रुपमा प्रस्तावका रुपमा लैजान नमिल्ने भन्दै दर्ता अस्वीकार गरेको थियो ।

जेठ १४ गते नै संसदमा विधेयक प्रस्ताव गर्ने कार्यसूची सार्वजनिक गरेपनि सरकारले पछी कार्यसूचीबाट हटाएको थियो । दलहरुको समर्थन जुटाउनकै लागि प्रधानमन्त्रीले गत मंगलबार सर्वदलीय बैठक बोलाएका थिए । 

लिम्पियाधुरा, कुटी, गुञ्जी, नाबी, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्शा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । सरकारले संविधान संशोधन विधेयक यही जेठ ९ गते संसद सचिवालयमा दर्ता गराएको थियो ।

त्यसअघि जेठ ५ गते मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्शा पारित गरेपछि दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको थियो ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग आफ्नो भएको दाबी गर्दै भारतले दशकौंदेखि कब्जा गरेको छ भने नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक भारतले उदघाटन गरेपछि यो विषय पछिल्लो पटक विवादका रुपमा सतहमा आएको छ ।

भारतले आफ्नो कब्जामा राखेपनि सुगौली सन्धीलगायतका ऐतिहासिक तथ्य र प्रमाणमा ती भूभाग नेपालकै रहेको पुष्टि हुन्छ ।

२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान दोस्रो पटक संशोधन गर्न लागिएको हो । यसअघि पहिलो संशोधन, संविधान जारी गरिएको वर्ष असोज १० गते नै गरिएको थियो ।