अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको जित

काठमाडौं,असोज,११-नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो ।

नेपालको जितमा अन्जन विष्ट नायक बने।उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो।अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।  

सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो।सातौं मिनेटमा गोलकिपर किरण चेम्जोङ अघि बढेको अवस्थामा सुमन अर्यालले हेडरबाट क्लियर गर्न खोजेको बल आफ्नै पोस्टतर्फ गएको थियो । तर, गोललाइन नजिकै रहेका रोहित चन्दले बल क्लियर गर्दै गोल हुनुबाट जोगाए ।

खेलको १८ औं मिनेटमा पेनाल्टी बक्सको नजिकबाट बंगलादेशका कप्तान जमल भुयानको उत्कृष्ट फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

तर, सेट पिसमा उत्कृष्ट देखिएको नेपालले खेलको १८ औं मिनेटमा अन्जनको  गोलबाट सुरुआती बनाएको थियो।विमल घर्ति मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन् ।

२६ औं मिनेटमा बंगलादेशका साजाद होसेनको प्रहार नेपालका गोलकिपर किरणले बचाए ।

२७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए।विमलले उपलब्ध गराएको बलमा तेज तामाङले प्रहार गरेको बल बंगलादेशका गोलकिपर अनिसुर रहमानले पन्च गर्दै बाहिर फाले।त्यहिँ रिबाउन्ड बलमा अन्जनले उत्कृष्ट फिनिस गर्दै पोस्टको जाली चुमाए ।

३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३-० को अग्रता दिलाए।नुतुनले विमललाई फउल गरेपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो।जसमा विशाल राईको फ्रिकिकमा अन्जनले हेडमार्फत उत्कृष्ट गोल गरे ।

यससँगै अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् । राष्ट्रिय टोलीका लागि अन्जनको यो १० औं गोल समेत हो ।

यस अघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्।

खेलको ५६ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३-१ को स्थितिमा ल्याए।रोहित चन्दलाई बिट गर्दै रकिब होसेनले उपलब्ध गराएको क्रसमा सजादले हेडमार्फत गोल गरे ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र नेपाल ३-१ ले विजयी भयो।नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।खेलपाटीबाट