उपनिर्वाचन हुँदै : ३७ जिल्लाका ५२ पदका लागि मतदान जारी

काठमाडौं, मंसिर,१४-

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका केही सीटमा जनप्रतिनिधि चयनका लागि आज उपनिर्वाचन  हुँदैछ ।उपनिर्वाचन हुने सबै जिल्लामा आवश्यक तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न पाइने आयोगले जनाएको छ ।३७ जिल्लाका ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

आयोगका अनुसार उपनिर्वाचनका लागि पाँच हजार ५ सय ३२ कर्मचारी खटाइएको छ ।निर्वाचनका लागि गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको सहभागितामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

गत साउन १६ गते १८ वर्ष पूरा भइ फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउने छन् ।मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । निर्वाचनका लागि अनुगमनकर्ता, अधिकारकर्मी र सञ्चारकर्मीलाई पासको व्यवस्था गरिएको छ ।

मतदान हुने क्षेत्रमा मदिरा बिक्री वितरण र सेवन निषेध गरिएको छ भने मतदान केन्द्र तोकिएका विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गरिएको छ ।निर्वाचन हुने र भारतसँग सीमा जोडिएका कतिपय नाका निर्वाचनका अवधिमा बन्द रहनेछ ।

यसैबिच अहिले : कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सांसदका लागि उपनिर्वाचन भईरहेको छ भने भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क), बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) र दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्यको निर्वाचन भईरहेको छ ।

सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको  छ । उपनिर्वाचनमा ४४ स्थानीय तहका ४८ पदका निर्वाचन हुँदैछ ।उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ का लागि निर्वाचन भईरहेको हो ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा १० राजनीतिक दल र ११ स्वतन्त्र गरी २१ उम्मेदवार मैदानमा छन् । तत्कालीन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिकाको ११ वडाका ७१ हजार ८७१ मतदाता छन् । ती मतदाताकाले ८२ मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यस्तै भक्तपुर प्रदेश १ (क) मा प्रदेश सभाका लागि उपनिर्वाचन भईरहेको छ ।  उपनिर्वाचनलाई मध्यनजर गर्दै शुक्रवार राति देखि आज बेलुकी ९ बजेसम्म मतदान हुने स्थानमा सवारी चलाउन रोक लगाइएको छ ।

२०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानेको मष्तिस्कघातका कारण निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन भईरहेको हो ।

यस्तै, दाङमा प्रदेश सभाका लागि उपनिर्वाचन भईरहेको छ । दाङ क्षेत्र नं ३ को (ख) का लागि भईरहेको निर्वाचनमा ३२ मतदानस्थल र ७७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यता, प्रदेशसभाका लागि बागलुङ २ (ख) र बडिगाड गाउँपालिका–२ को वडाध्यक्षमा निर्वाचन भईरहेको छ । उपनिर्वाचनका लागि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।निर्वाचनका लागि २५ मतदानस्थलका ४५ मतदान केन्द्रमा गरी २१५ कर्मचारी खटिएका छन् । प्रदेशसभा सदस्य निर्वाचनका लागि ३७ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।

प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनपछि रिक्त पदमा उपनिर्वाचन भईरहेको हो । बडिगाड गाउँपालिका–२ मा वडाध्यक्षका लागि एक हजार ७७५ मतदाताले मताधिकार प्रयोग गरिरहेका छन् ।

यस्तै वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त पदमा उपनिर्वाचन भईरहेको हो । चितवनको भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ एवं ५ मा पनि उपनिर्वाचन भईरहेको छ ।

जिल्लामा उपनिर्वाचन हुने वडाहरुको मतदानदेखि गणनास्थलसम्म सिसी क्यामेरा राखेर निगरानी गरिएको छ । यस्तै पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ को वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भईरहेको छ ।

उपनिर्वाचनकै क्रममा बैतडीको दोगडाकेदार–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा उपनिर्वाचन भईरहेको छ । सुर्नया गाउँपालिका–४ मा केदार मावि पिपलकोट र हुनैनाथ आधारभूत विद्यालय कपिन्ना मतदानस्थल तोकिएको छ ।सुर्नया गाउँपालिका–१ को साविकको गाविस भवन गुर्केलीलाई मतदानस्थल तोकिएको भने पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबो र पहरौल मावि बाङ्गालाई मतदानस्थल तोकिएको छ ।

कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन भईरहेको छ । उपनिर्वाचनका लागि गोरखा माध्यमिक विद्यालयमा राखिएको मतदानस्थलमा दुई मतदान केन्द्र निर्धारण गरिएका छन् ।

एक हजार एक ९९ मतदाता रहेको वडामा पुरुष ५५९ र महिला मतदाता ६४० रहेका छन् । मतदानस्थलको सुरक्षका लागि १५० नेपाल प्रहरी र १५० कै सङ्ख्यामा सशस्त्र प्रहरीलाई खटाइएको छ ।

यस्तै, डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन भईरहेको छ । निर्वाचनका लागि शारदा मावि मौवानगरदह, कोटान्जर मावि, कोटान्जर तथा साउदकडा माविलाई मतदानस्थल तोकिएको छ ।

यता, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष र मटिहानी तथा वलवा नगरपालिकाका वडाध्यक्षका लागि हुन उपनिर्वाचन भईरहेको छ । कूल २२ हजार ९२० मतदाताका लागि १९ मतदानस्थल र २९ मतदान केन्द्र तोकिएको छ ।यता,पाँचथर, कपिलवस्तु, संखुवासभा, सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक, मोरगंलगायतका जिल्लामा पनि मतदान भईरहेको छ ।