‘ए’ डिभिजन लिग : आज आर्मी र एनआरटी भिड्दै

काठमाडौं,असोज,१३-

आजबाट शुरु हुने पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा आज विभागीय टिम आर्मी र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । 

घरेलु फुटबल करिब पाँच बर्ष देखि आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग आज सुरु हुन लागेको हो ।

रेलिगेशन नहुने प्रावधान सहित सुरु गर्न लागिएको लिगमा उपत्यकाका शीर्ष १४ क्लबलेले प्रतिस्पर्धा गर्ने छन् । ९१ खेल हुने यस प्रतियोगिता करिब तीन महिनामा सम्म चल्ने छ । प्रतियोगिताको पहिलो खेलमा उत्रदै गर्दा दुवै टोलीको लक्ष्य सफल सुरुवात गर्ने हुनेछ ।

एनआरटीका प्रशिक्षक महेश्वर पन्थीले करिब एक महिनामात्र तयारी गर्न पाएकाले सोचे अनुसारको अभ्यास गर्न नपाएको बताउछन् । मोफसल र काठमाडौंका सामान्य खेलाडीलाई समावेश गर्दै टोली बनाईएको उल्लेख गर्दै उहाँले उद्घाटन खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताउनुभयो ।

यता, पुर्व राष्ट्रिय खेलाडी नविन न्यौपानेले यसै ए डिभिजन लिगबाट प्रशिक्षकको रुपमा डेब्यु गर्दैछन् । लामो समयबाट अभ्यास र तयारीमा रहेको टोलीबाट उहाँले उपाधि जित्ने लक्ष्य लिएका छन् ।

‘पहिलो पटक प्रशिक्षकको जिम्मेवारी ए डिभिजन लिगमा निभाउदैछु । एक पटक समेत लिग नजितेको आर्मीलाई उपाधि जिताउनु मेरो मुख्य लक्ष्य हुनेछ ।’ उहाँले भन्नुभयो, ‘आर्मीले स्वभाविक खेल खेल्छ । तर राम्रा खेलाडीबाट नतिजा राम्रो निस्कने अपेक्षा गरेको छ ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौंले रु सात लाख र छैटौं टोलीले रु पाँच लाख पुरस्कार पाउनेछन् ।

‘फेयर प्ले’ टोलीले रु एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार र ‘म्यान अफ दी म्याच’ हुने खेलाडीलाई रु १० हजार पुरस्कार दिइनेछ ।

लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछ । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लोपटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।