संस्थागत शुल्क निर्धारण लगायतको पहल

नेपालगञ्ज,बैशाख,२४-

नेपालगञ्ज उपमहानगरपालिकामा संस्थागत विद्यालयहरुको शुल्क निर्धारण गरिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले विभिन्न शुल्क तथा पाठयपुस्तक निर्धारण लगायतका निर्णय गरेको छ ।

जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा चैत्र १७ गते बसेको संस्थागत विद्यालय भर्ना तथा शुल्क अनुगमन समितिले गरेको निर्णयानुसार नै शुल्क कायम गरिने भइएको छ । सो निर्णय भन्दा बढी शुल्क लिन नपाउने र लिएको पाइएमा आगामी महिनामा हद समायोजन गर्नु पर्ने छ ।

वार्षिक शुल्क दुई महिना बराबरको मासिक शुल्कमा नबढाई शिर्षक उल्लेख गरेर शुल्क निर्धारण गर्नु पर्ने र सो को जानकारी उपमहानगरपालिकामा पेश गर्नु पर्ने शिक्षा समितिको निर्णयमा उल्लेख गरिएको छ ।

विद्यालयका अन्य शुल्क निर्धारण गर्न वडा अध्यक्ष अजय पाठकको संयोजकत्वमा ३ सदस्यीय शुल्क निर्धारण समिति गठन गरिएको उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

प्याव्सनका विकास वहादुर सिंह र उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख इश्वर पौडेल रहेको समीतीले परिक्षा शुल्क, कम्प्यूटर शुल्क, कोचिङ कक्षा सञ्चालन शुल्क तथा अतिरिक्त क्रियाक्लाप शुल्क आदि विषयमा मापदण्ड र शुल्क निर्धारण तय गर्नेछ ।

सामुदायिक तथा नीजी विद्यालयहरुको चारित्रिक तथा स्थानान्त्रण प्रमाण पत्र शुल्क आधारभुत तहका लागि ५ सय र माध्यामिक तहका लागि पन्ध्र सय तय गरिएको छ । थप कक्षा सञ्चालनका लागि आधारभुत तहका लागि पन्ध्र हजार, माध्यामिक तहका लागि २५ हजार अनुमती शुल्क लिइने छ ।

यस्तै नयाँ विद्यालय सञ्चालनका लागि मन्टेश्वरीका लागि २५ हजार र आधारभुत तहका लागि ५० हजार अनुमती शुल्क लिइने निर्णय गरिएको छ । थप पाठयपुस्तक निर्धारणका लागि पनि तयारी गरिने शिक्षा शाखा प्रमुख इश्वर पौडेलले जानकारी दिनु भयो ।

स्वीकृत नलिई माथील्लो तहको कक्षा सञ्चालन गर्ने विद्यालयको अनुगमन गरि सञ्चालन नै नहुने गरि कारवाही गरिने समेत शिक्षा शाखाको तयारी रहेको छ । छात्रवृति प्रदान गरिएका विद्यार्थीको तिनपुस्ते नामावली ३ महिनाभित्र सार्वजनिक गर्ने तयारी गरिएको पनि शिक्षा शाखाप्रमुख पौडेलले जानकारी दिनु भयो ।

यस्तै पौरखी महिला विद्यालयलाई आदर्श मावि राँझामा पदस्थापना गरिएको छ । शिक्षाको गुणस्तर वृद्धि र विकासका लागि अवस्था अध्यनसँगै प्रभावकारी रणनीतिक कदम चालीने नगर उपप्रमुख उमा थापामगरले विश्वास व्यक्त गर्नु भयो ।