लहान बम विस्फोट:गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं,चैत,१-सिराहाको लहान मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।विस्फोटमा मालपोत कार्यालयका दुई जना कर्मचारी र ६ जना सेवाग्राही घाइते भएका छन् ।

घटनामा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई नेपाली सेनाले हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं ल्याएको छ ।पिँडुला, पिठ्यूँसहित शरीरका विभिन्न भागमा चोट लागेका भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।धनगढी नगरपालिका १३ का भण्डारी काम विशेषले मालपोतमा गएको बेला घाइते भएका हुन् ।अन्य घाइतेहरुको भने सिरहाकै अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुमा मालपोत कार्यालयका नायबसुब्बा ३८ वर्षीय शिवकुमार यादव, गोलबजार नगरपालिका–६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका–१६ का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका–४ का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका–३ का ५४ वर्षीय बद्रीनारायण यादव र ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाछे मगर छन् ।

दिउँसो पौने २ बजे कार्यालयको मोठ शाखामा विष्फोट गराइएको हो ।विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा क्रान्तिकारीले लिएको छ।प्रेस विज्ञप्ति जारी गर्दै सो समूहले तराइका जिल्लाहरुमा भ्रष्टाचार बढी हुने कार्यालयमा कारबाही गरेको उल्लेख गरिएको छ ।