समानुपातिक निर्वाचनमा भाग लिन दलहरूले भदौ २७ भित्र निवेदन दिनुपर्ने

काठमाडौं,भदौं,२५-

निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आजदेखि २७ भदौं सम्म आवेदन दिनुपर्ने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबार दुई चरणमा एकै साथ गर्ने सरकारले निर्णय गरिसकेको छ । निर्वाचन आयोगमा दर्ता रहेका उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई आयोगले निवेदन पेश गर्न आग्रह गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निवेदन पेश गर्दा प्रतिनिधिसभा निर्वाचनका लागि मात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि भाग लिने हो वा दुवैतर्फ भाग लिने हो स्पष्ट खुलाउनु पर्नेछ । प्रदेशसभा सदस्यको निर्वाचनतर्फ सबै प्रदेशमा भाग लिने वा कुनै खासखास प्रदेशमा मात्र भाग लिने हो स्पष्टरुपमा खुलाएर सम्बन्धित राजनीतिक दलको प्रमुख पदाधिकारीको हस्ताक्षर गरी बुझाउन आयोगले सूचना प्रकाशित गरेको हो ।

तोकिएको म्याद भदौं २७ गतेभित्र निवेदन पेश नगर्ने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन नपाउनेतर्फ पनि आयोगले राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।