म्याग्दीबाट रू. २० करोडको सुन्तला निकासी

म्याग्दी,माघ,२०-यस वर्ष म्याग्दीबाट रू. २० करोड बराबरको सुन्तला निकासी भएको छ।

जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीसहित पोखरा, मुग्लिन, काठमाडौंलगायत बजारमा निकासी भएको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ।

केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैंचाको सुन्तला निकासी भइसकेको जानकारी दिनुभयो।

‘सरदर प्रतिकिलो रू. ६० का दरले रू. २० करोड मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौं,’ उहाँले भन्नुभयो, ‘अनुकूल मौसम, रोगकीराको समस्या नभएको र फल दिने बोट बढेकाले उत्पादनमा पनि वृद्धि भएको छ ।’

म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैंचा छन्।

ती ठाउँहरूमा ७०६ हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूलखेती भएको केन्द्रको तथ्यांक छ । रासस