नेकपाले लगायो ७ प्रदेश प्रमुखहरुको नाम टुंगो

काठमाडौं,कात्तिक,१८-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ।सोमबार बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नाम टुंगो लगाएसँगै अब मन्त्रिपरिषद बैठक बसेर उनीहरुको नाम अनुमोदन गरिने छ ।

मन्त्रिपरिषदले निर्णय गरी नाम राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।नेकपा सचिवालय बैठकले टुंगो लगाएको नाममा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) छन् ।

यसैगरी गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौं) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिइएको भन्नेचाहिं खुलाइएको छैन । प्रदेशको जिम्मेवारी भने मन्त्रिपरिषद्ले तोक्ने जनाइएको छ ।

सरकारले आइतवार सातै प्रदेशका प्रमुखलाई एकसाथ बर्खास्त गरेको थियो । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै जनालाई सरकारले एकसाथ हटाएको हो ।सरकारले उनीहरुलाई हटाए पनि संविधानले प्रदेश प्रमुख रिक्त नहुने कल्पनासहितको व्यवस्था गरेपनि सरकारले त्यसलाई बेवास्ता गरेको भन्दै आलोचना पनि भएको छ ।