दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न

७०.५ प्रतिशत मतदान,बाजुरामा सबैभन्दा बढी मत खस्यो : निर्वाचन आयोग

काठमाडौं, असार,१४-

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आज प्रदेश नम्बर–१, ५ र ७ मा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ ।समग्रमा ७०.५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगले गरेको छ ।

केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान सम्पन्न भएको पनि आयोगले जनाएको छ ।सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदान भएको छ भने पूर्वी पहाडको पहाडी जिल्ला भोजपुरमा सबैभन्दा कम ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मतगणना प्रक्रियालाई छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइनेसमेत बुधबार साँझ पत्रकार सम्मेलन गरी जनाएको छ ।मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

मतदान सम्पन्न भएका केन्द्रहरुबाट मतपेटिका मतगणना स्थलतर्फ लैजानेक्रम पनि सुरु भइसकेको छ ।अधिकांश स्थानमा मतपेटिका संकलनका लागि समय लाग्ने भएकाले बिहीबारदेखि मतगणना हुने बुझिएको छ । केही स्थानमा भने बुधबारै रातिदेखि मतगणना गरिने भएको छ ।

प्रदेश नम्बर–१, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार मतदान भएको हो । जसअन्तर्गत् १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा मतदान भएको हो ।

६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको थियो ।दोस्रो चरणमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ जना चुनावी प्रतिस्पर्धामा छन् ।