ओखलढुंगामा नेकपाको कमिटी एकिरण शुरु

ओखलढुंगा,असोज,२१-
नेकपाका कमिटी एकिकरण गर्न ओखलढुंगामा कार्यदलले काम थालेको छ । प्रदेश कमिटीले जिम्मेवारी तोकेको आठ सदस्यीय कार्यदलले आइतबारबाट काम थालेको हो । कार्यदलले तत्काकालीन नेकपा एमालेको जिल्ला कार्यालयलाई पार्टी कार्यालय बनाउने निर्णय गरेको छ ।

त्यस्तै पार्टी कार्यालय सञ्चालन, सम्पति तथा संगठित सदस्यको अभिलेखिकरण गर्न नेत्रप्रसाद भट्टराई, शंकर कट्वाल, विनोद सुनुवार, नरेन्द्र श्रेष्ठ, खड्ग योगी र शम्भु धमला रहेको समिति गठन गरेको छ ।
गाउँपालिका तथा नगरपालिकाको कमिटी एकिकरणमा सदस्य सिफारिस गर्न गाउँपालिका तहमा ६ र नगरपालिका तहमा ८ सदस्यीय समिति निर्माण गरेको छ । त्यसै गरि जनवर्गीय तथा पेशागत संगठन एकिकरणका लागि मोहन श्रेष्ठ, बाबुराम गौतम, निशान्त शर्मा र शकुन्तला राजभण्डारी रहेको समिति गठन गरेको नेकपाका केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारले बताए ।

जिल्ला पार्टीको एकिकरणका लागि सुनुवारसहित बाबुराम गौतम, मोहन श्रेष्ठ, मोहन खड्का, नेत्र भट्टराई, शकुन्तला राजभण्डारी, खड्ग योगी र निशान्त शर्मा रहेको जिल्ला स्तरीय कार्यदल नेकपाले निर्माण गरेको थियो । अब नियमित बैठकबाट जिम्मेबारी तोकिएका समितिबाट आएका सिफारिसका आधारमा पार्टी कमिटी एकिकरण हुने नेता नेत्र भट्टराईले बताए ।