ओखलढुंगाको खिजिदेम्बामा एम्बुलेन्स सेवा सुरु

ओखलढुंगा,असोज,२१-
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गत आर्थिक वर्षको गाउँपालिकाको बजेटबाट खरिद गरिएको एम्बुलेन्सले बिरामी ओसार्न थालेको हो । दुर्गम गाउँका नागरिकलाई समयमै स्वास्थ्य संस्था पुयाएर उपचारमा सहयोग गर्ने उद्देश्यले ल्याईएको एम्बुलेन्सले सेवा दिन थालेको गाउँपालिकाका लेखापाल टेकनारायण यादवले जानकारी दिए ।

उनका अनुसार एम्बुलेन्स सेवा सुरु भएको केही दिन यता खिजीदेम्बा क्षेत्रका नागरिकलाई उपचारका लागि जिल्ला बाहिर र राजधानीका अस्पतालमा आवत जावत गर्न सहज भएको छ ।

गाउँपालिकाले ल्याएको एम्बुलेन्स प्रयोग गर्न पाएपछि खिजीदेम्बाका स्थानीय दंग परेका छन् । आफन्त बिरामी हुँदा सक्नेले राजधानी जान हेलिकप्टर चार्टर गर्ने र नसक्नेले डोको,स्टेचरमा बोकेर उपचारका लागि नजिकैका स्वास्थ्य संस्था लैजानुपर्ने बाध्यता थियो । एम्बुलेन्स खरिद गरेको २ महिना सम्म सञ्चालनमा नआएको विषयमा सञ्चारमाध्यमहरुमा समाचार सार्वजनिक भएको थियो ।

त्यसको केही दिन मै पालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ ।दश लाख १२ हजार ४ सय लागतमा खिजीदेम्बाले एम्बुलेन्स खरिद गरेको छ । नागरिकको सेवाका लागि एम्बुलेन्स खरिद गर्ने खिजीदेम्बा गाउँपालिका ओखलढुंगाको एक मात्र स्थानीय तह हो ।