‘चाचाजी’को नागरिक अभिनन्दन आज : सहभागीहुन सबैलाई आब्हान

नेपालगन्ज, जेठ,२९-
प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को आज नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा ८९ वर्षिय ‘चाचाजी’को नागरिक अभिनन्दन गर्न लागेको हो । प्रेस युनियनले सोमबार पत्रकार सम्मेलन गरेर नागरिक अभिनन्दनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको थियो ।

पत्रकार सम्मेलनमा युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले नागरिक अभिनन्दनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । चाचाजीको नागरिक अभिनन्दनमा भोली बेलुका ५ बजे स्थानीय त्रिभुवन चोक पुर्वलाईनमा सक्रिय सहभागी भएर सम्मान प्रकट गर्न सबैलाई उहाँले आब्हान गर्नुभयो । प्रेस स्वतन्त्रता सेनानी चाचाजीले पत्रकारिता मार्फत लोकतन्त्र र समाजलाई पुर्याएको योगदानका लागि उहाँलाई अभिनन्दन गर्न लागिएको शाहले बताउनु भयो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले पन्नालाल चाचाजीको सादगी जीवनको जति प्रशंसा गरेपनि कम हुने भन्दै नागरिक अभिनन्दनलाई उद्योग वाणिज्य संघले अपनत्व लिएको बताउनुभयो । ‘सादगी जीवनशैली भएका चाचाजीको नागरिक अभिनन्दनलाई ऐतिहासिक बनाउन सम्पुर्ण नेपालगन्जबासीको सहभागिता हुनुपर्छ,’ उहाँले भन्नुभयो ‘उद्योग वाणिज्य संघमा आवद्ध रहनु भएका सम्पुर्ण उद्योगी, व्यवसायीलाई नागरिक अभिनन्दनमा सहभागी हुने म अनुरोध गर्दछु ।

नेपाल पत्रकार महासंघका पुर्वमहासचिव पोषण केसीले पत्रकारिता गरेर समाज र राष्ट्रका लागि योगदान गरेका चाचाजी जस्ता व्यक्तित्वलाई नागरिक अभिनन्दन गर्ने सम्भवत त नेपालगन्जबासी मुलुककै पहिलो हुन पुगेको बताउनुभयो । चाचाजी पत्रकार भएको नाताले नागरिक अभिनन्दनमा बाँकेका सम्पुर्ण पत्रकार अनिवार्य सहभागी हुनुपर्ने र अन्य अन्य पेशाकर्मी तथा नेपालगन्जबासीले पनि सहभागीता जनाएर सफल पार्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश पाँचका महासचिव भेषराज बस्नेतले नागरिक अभिनन्दनको अगुवाई प्रेस युनियनले गरेपनि सबै लागेर सफल पार्नुपर्ने बताउनुभयो । ‘पत्रकारतारि क्षेत्रको मात्र नभएर सिंगो नेपालगन्जबासी र बाँकेबासीका लागि दायित्वको रहेको छ, भोलीको दिन नागरिक अभिनन्दनमै समय दिन महासचिव बस्नेतले सम्पुर्ण पत्रकारलाई आब्हान गर्नुभयो ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले चाचाजी सबैका साझा व्यक्ति भएको बताउँदै महासंघका सम्पुर्ण सदस्यलाई सक्रिय सहभागिता जनाउन आब्हान गर्नुभयो । ‘पत्रकार महासंघ बाँकेले सम्पुर्ण सदस्यलाई भोलीको कार्यक्रममा सहभागी हुन अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो ।

चाचाजीको नागरिक अभिनन्दनले पत्रकारिता ईतिहासमै एउटा नजिर बस्ने बताउँदै अध्यक्ष थारुले भन्नुभयो, ‘कम्तिमा पत्रकारितामा लागेका व्यक्तिले पनि यति ठुलो सम्मान पाउँदो रहेछ भन्ने नजिर जसरी बस्दैछ, त्यो प्रेस युनियनले सुरुवात गरेको छ, महासंघले पनि नागरिक अभिनन्दनलाई आफ्नै कार्यक्रमका रुपमा लिएको छ ।

सो क्रममा उच्च अदालत नेपालगन्ज बार एशोसियशनका अध्यक्ष बलबहादुर चन्द, प्रेस चौतारी बाँकेका सचिव कमल डाँगी, प्रेस सेन्टर बाँकेका उपाध्यक्ष कृष्ण ओली लगायतले नागरिक अभिनन्दन कार्यक्रममा आफ्नो संस्था र संगठनबाट सम्पुर्ण सदस्यलाई सक्रिय सहभागिता गराउने प्रतिबद्धता जनाउनुभयो । नागरिक अभिनन्दनका लागि पत्रकारिता सम्वद्ध संघ, संस्थाहरु नेपाल पत्रकार महासंघ, प्रेस चौतारी बाँके र प्रेस सेन्टर बाँके समेतले यसअघि नै ऐक्यवद्धता जनाईसकेका थिए ।

मंगलबार बेलुकी ५ वजे त्रिभुवन चोक पूर्वलाइनस्थित चाचाजीको निवास अगाडीवाट सम्मान ¥याली सुरु हुने युनियन बाँकेका सचिव अर्जुन ओलीले जानकारी दिनु भएको छ । निर्धारित समयमा सुरु भएर निर्धारित समयमा नागरिक अभिनन्दन कार्यक्रम समापन हुने भएकाले समयमै उपस्थित हुन सबैलाई सचिव ओलीले आग्रह गर्नु भएको छ । उहाँलाई रथारोहन गराई नगर परिक्रमा गरिसकेपछि विशेष समारोह आयोजना गरी नागरिक अभिनन्दन पत्र प्रदान गर्ने कार्यक्रम छ ।

चाचाजीको सम्मान नेपाली पत्रकारिता सम्मान त हो नै, बाँके र नेपालगन्ज शहरकै पनि सम्मान हो भन्ने ठम्याई छ । नेपालगन्ज शहरका एक जना शालीन छबि बोकेका जेष्ठ नागरिक जसले आफ्नो पुरै जीवन पत्रकारिता मार्फत समाज र राष्ट्रका लागि लगाउनु भयो । चाचाजीको नागरिक अभिनन्दन कार्यक्रममा व्यापक सहभागीताको लागि युनियनले सबैलाई आब्हान गरेको छ ।