लोकतन्त्रमाथी प्रहार गर्दै वर्तमान सरकार

दिपा आले/

काठमाण्डौं,जेठ,२९-

दिपा आले

नयाँ सरकार बनेको चार महिना नपुग्दै पाँच पटक मूल्य वृद्धि गरेर गरिब जनताको ढाड सेक्ने काम यति बेला भइरहेको छ । शासन र सत्ताको दुरुपयोग गर्दै जनतामाथि अधिनायकवाद लाद्न थालेको व्यवहार देखिदैँछ ।

किन कि यतिबेला गरिब जनताका छोराछोरी आफ्नो अध्ययन छाडेर भोको पेट चर्को घामको बेवास्ता गर्दै आफूमाथि राज्यले गरेको अन्याय अत्याचार विरुद्ध धावा बोल्दै सडकमा आन्दोलन गर्न बाध्यछन् तर सत्तामा बसेर रजाई गरेका वर्तमान सरकारले भने दुई तिहाईको दम्भमा गरिब जनताको पसिना मात्र होइन रगत चुस्न थालेको भान हुँदैछ ।

इन्धनको मूल्य हप्तै पिच्छे बढ्दैछ त्यसको साथसाथै दैनिक उपभोग्य वस्तुहरुको मूल्य पनि दिनदिनै बढ्दैछ जसले गर्दा अध्ययनरत विद्यार्थीहरु मात्र होइन सर्वसाधारण जनताहरुको रोजीरोटीमा समेत धक्का पुग्न थालेको छ । तर सरकार भने कानमा तेल हारेर मौन व्रतमा बसेका छन् ।

लाग्छ यस्तो अवस्था सिर्जना भईरहदा सत्ताधारीहरुको शक्ति र भक्तिको खेल कडा छ । किन कि यति बेला उनीहरुकै हातमा डाडुपन्यू छ जसले गर्दा आज गरिब जनताहरु आफ्नो रोजीरोटी र जिविकोपार्जनकोलागि आन्दोलनमा हुमिनु शिवाय अर्को विकल्प छैन ।

सत्ताधारीहरुलाई जनताको जनजिविका भन्दा आफ्नो बढी चिन्ता देखिन्छ । आफू र आफ्नो पार्टीलाई कसरी बचाउन सकिन्छ भन्ने सोंचमा ग्रस्त रहेका सत्तासीन शासकहरु भोको भेट आन्दोलनमा उत्रीरहेका गरिब जनताका छोराछोरीहरुको भविष्य प्रति कुनै दिलचस्पी देखिदैनन् जसले गर्दा आफै मुढेबल प्रयोग गरेर सत्ताको भरमा शक्ति लगाएर जनताका छोराछोरीलाई यति बेला कोरा हान्ने काम भइरहेको छ । तर उनीहरुको समस्यालाई समाधान गर्ने पक्षमा कदापि छैनन् ।

जनताको सेवाकालागि भनेर सत्तामा पुगेका नेताहरु वर्तमान परिवेशमाआइपुग्दा समस्यालाई समाधान गर्न तिर भन्दा कुर्चिमा बसेर रिमोट चलाउने काम मात्र भईरहेको छ ।

जनता सडकमा आन्दोलन गरेर छटपटि रहदा सरकार भने कुर्सिमा बसेर मृल्य वृद्धिलाई फिर्ता नलिने घोषणा गरेका छन् । के यही हो त विधिको शासन भएको देश रु लाग्दैछ देशमा अब लोकतन्त्र प्रति प्रहार हुँदैछ ।

लोकतन्त्रमा प्रहार हुनु भनेको जनताको सावभौमसत्ता खोसिनु जस्तै हो । किन कि विगतका दिनहरुमा पनि मूल्य वृद्धि नभएका होइन तर विद्यार्थीहरु सडकमा आई आन्दोलन गरेपछि त्यसलाई समाधान गरेका थिए ।

तर यति बेला भने जनताका छोराछोरी तातो घाम र सरकारका हुनुमानहरुबाट कुटाई र हिंसा खेप्न बाध्य छन् तर त्यसलाई समाधान गर्ने बाटो तिर भने लगिएको छैन ।

आफ्नै मुढेबलमा जवाफदिने काम मात्र भएको छ । विगतका दिनमा मूल्य वृद्धि हुँदा प्रतिपक्षमा बसेका दलहरुले आंखाकान नदेख्नेगरी त्यति बेलाका सरकारलाई भन्नु नभन्नु अपशब्द बोलेर आफ्ना आनीबानी देखाएका थिए तर यति बेला भने त्यही प्रतिपक्षमा बसेका दलका नेताहरु आफै सत्तामा छन् तर जनताको हितकोलागि होइन आफ्नो पार्टी हितकोलागि मृल्य वृद्धि बढवा दिईरहेको छ ।

सत्तामा आफै बस्ने तर जनताको दुःखलाई नदेख्ने ति सत्ताधारीहरु कुर्चिलाई गलत ढंगले प्रयोग गरेर आज प्रेस माथि समेत दमनकारी हस्तक्षेप गरी आफ्नो बाम औकात देखाउदै छन् ।

खबरदार ! लोकतन्त्रमा सत्ताको रजाईमा जनताको मूल्य र मान्यता अनि अस्त्तिवमाथि खेलवाड गर्दछ भने त्यसको प्रतिकार पक्कै पनि जनताले गर्नेछ ।

लोकतन्त्रलाई बचाउन नेपाली जनताले कुनै पनि हालतमा पछि पर्ने छैन् । जब जब देशमा लोकतन्त्रको घाँटी निमुट्ने काम गर्न थाल्छन् तबतब नेपाली जनता लोकतन्त्रलाई बचाउन जस्तो सुकै बलिदान दिन पनि पछि पदैनन् । त्यस कारण सत्ता र शक्तिको भरमा कुनै पनि दल वा शासकले अन्याय अत्याचार गर्न पाउने अधिकार छैन ।

सत्तामा पु¥याउन जनताले कति दुःख गरे भन्ने कुरा सधैं याद राख्नु पर्छ ।

इन्धन मुल्य वृद्धिलाई जति सक्दो घटाएर विद्यार्थीको सुन्दर भविष्य बनाउन तर्फ वर्तमान सरकार लाग्नु पर्छ । होइन भने ति गरिब जनताका छोराछोरीहरुले आफ्नो हकअधिकारकोलागि सडकमा आज आन्दोलन र राँको मात्र बालेका छन् भोलीको दिन त्यो आन्दोलनले ठूलो विकराल रुप लिन सक्छ ।

त्यो अवस्थामा भएको क्षतिपूर्तिको जिम्मा कसले लिने हो यस बारेमा सत्ताधारीहरुले गम्भीर भएर सोच्नु पर्छ ।जनताका सन्तान पनि मेरै सन्तान हो भनेर बुझ्न सक्ने हृदय बनाएर जान सक्नु पर्छ किन कि सत्ताधारी भनेकै जनताको लागि काम गर्न त्यो ठाँउमा पुगेको हो ।

हिजो आफू कुन ठाउँमा थिए भन्ने कुरा आजका मै हुँ भन्ने शासकवर्गहरुले बिर्सिनु हुंदैन । किन कि सत्तामा पुराएका जनताले तपाईहरुको गतिविधिलाई नजिकबाट मूल्यांकन गरिरहेका छन् ।

मूल्य वृद्धिको आन्दोलनमा नेपाल विद्यार्थी संघ र प्राज्ञिक विद्यार्थी परिषद नेपाल लगायतका विद्यार्थीहरु एक हप्तादेखि लगातार आन्दोलनलागि परेका छन् ।

उनीहरुको माग राज्यले सुनेर छिटो भन्दा छिटो समाधान गरोस् ।