कांग्रेस महासमिति बैठकको तयारी

काठमाडौं,पुस,१-

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन् । संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन् ।

देउवानिकट नेता बालकृष्ण खाँणले शुक्रबार सभापति देउवाले महासमिति बैठक बोलाउने तयारी गरिरहेको खुलाए। उनले भने, ‘समानुपातिकको नतिजा आएसँगै सभापति देउवा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र एक महिनाभित्रै महासमिति बैठक डाक्ने बारेमा परामर्शमा हुनुहुन्छ ।’

महासमिति बैठक भैरहवामा गर्ने बारेमा पनि छलफल भइरहेको खाँणले जानकारी दिए । कांग्रेसको विधानमा एक वर्षमा एकचोटि महासमिति बैठक बस्ने व्यवस्था गरिएको छ । देउवा कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएको दुई वर्ष पुग्नै लाग्दा पनि एकपटक पनि महासमिति बैठक बसेको छैन । आजको अन्नपूर्णमा खबर छ ।