कैलालीमा निर्माणधिन हुलाकी राजमार्गको मन्त्री लेखकद्धारा उद्घाटन

कैलाली,माघ ६-हुलाकी सडक अन्तर्गत नेपालगन्ज–बघौडा सडकको सिलान्यासपछि कैलालीमा निर्माणधिन अवस्थामै सडकको उद्घाटन गरिएको छ । १८ किलोमिटर सडक र ६ वटा पुल निर्माण बाँकी रहेको कैलालीको हुलाकी राजमार्ग भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक तथा भारतीय राजदूत रणजीत रायले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । निर्माण सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्गको उद्घाटनलाई स्थानीयले सस्तो लोकप्रियताका लागि गरिएको असफल प्रयास भन्दै टिप्पणी गरेका छन् ।

भारतीय राजदूत रणजीत रायलाई नेकपा एमाले र जनमोर्चा कार्यकर्ताले चर्को नाराबाजीका साथ कालोझण्डा समेत देखाएका छन् । एमाले जिल्ला समिति सदस्य दीर्घराज जोशी सहित ६ जना पक्राउ परेको प्रहरी उपरिक्षक अर्जुन चन्दले बताए । भारतीय राजदूतलाई आसन ग्रहण गराउने क्रममा ‘भारतीय विस्तारवाद मुर्दावाद’ लगायतका नारा लगाएर कालो झन्डा देखाउने मध्येबाट प्रहरीले ६ जना पक्राउ गरेको हो । कार्यक्रममा नेपाल र भारतको राष्ट्रियगान बजाउने तय भएको थियो । भारतीय राष्ट्रियगान बज्न सुरु भएपछि सहभागीहरुले भारतविरुद्ध नाराबाजी सुरु गरेका थिए ।

स्थिति तनावपूर्ण भए पनि भारतीय राष्ट्रियगान रोकिएन । उद्घाटन भएको हुलाकी राजमार्गको रतनपुरदेखि ६ वर्षदेखि निर्माणाधीन छ। निर्माण ठेक्काको जिम्मा लिएको गावर इण्डिया काम अधुरै छोडेर फिर्ता गइसकेको छ । धनगढीदेखि सत्तिसम्म ६२ किलोमिटर हुलाकी राजमार्ग मध्ये वसन्त वन क्षेत्रमा पर्ने लालबोझीसम्मको १८ किलोमिटर सडक निर्माण हुन बाँकी रहेको हो । हिजो मात्रै मन्त्री लेखकले बाँकेको फत्तेपुरमा शिलान्यास गरेका थिए ।