विश्वकप फुटबल:ब्राजिललाई पराजित गर्दै क्रोयशिया सेमिफाइनलमा

गोलकिपर नायक बन्दा क्रोयशिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा

Image Not Foundकाठमाडौं,मंसिर,२४-कतारमा जारी फिफा विश्वकपमा क्रोयशिया लगातार दोस्रोपट सेमिफाइनलमा प्रवेश गरेको छ।शुक्रवार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोयशियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो।

अतिरिक्त समयमा पनि दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि विजेताको टुंगो पेनाल्टी सूटआउटबाट लगाइएको हो । पेनाल्टीमा क्रोयशिया ४-२ ले विजयी भयो ।

क्रोयशियाले खेलेको यो लगातार दोस्रो पेनाल्टी सूटआउट हो । अन्तिम ८ मा स्थान बनाउन पनि उसले जापानलाई पेनाल्टी सूट आउटमै पराजित गरेको थियो ।

दुवै खेलका नायक भने क्रोयशियाली गोलरक्षक लिभाकोभिक भए । उनले निर्धारित १२० मिनेटको समयमा पनि ब्राजिलका आधा दर्जनभन्दा धेरै गोलका अवसरलाई विफल पारेका थिए ।

क्रोयशियाले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्डबीच हुने खेलको विजेता सँग प्रतिस्पर्धा गर्ने छ ।