विश्वकप फुटबल:नेदरल्यान्ड्सलाई हराउदै अर्जेन्टिना सेमिफाईनलमा

काठमाडौं,मंसिर,२४-कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ ।

शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।पेनाल्टीमा अर्जेन्टिनाले बाजी मार्यो ।

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमाअर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे ।अर्जेन्टिनाका एन्जो फर्नान्डेज पेनाल्टीमा चुके ।

पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे ।तर, भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके ।

Image

त्यसअघि लुसाइल स्टेडियममा भएको रोमान्चक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।खेलको ३५ औं मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

मोलिनाले मेस्सीको पासमा गोल गरेका हुन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।

मेस्सीको यो दशौँ विश्वकप गोल हो । यस गोलसँगै मेस्सीले विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेका छन् ।

खेलको ८३ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २-१ को स्थितिमा ल्याए । उनी ७८ औं मिनेटमा मेम्फिस डिपेको स्थानमा मैदान छिरेका थिए।

Image

त्यसपछि खेलको इन्जुरी समयमा वेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकिएको थियो । उनले कुपमाइनर्सको चलाखीपूर्ण फ्रिकिकमा गोल गरेका हुन् ।

अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा पुगिसकेको छ ।नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।साभार खेलपाटी बाट

Image