संसद अधिवेशन अझै केही समय चल्छ : मन्त्री शर्मा

काठमाडौं,साउन,२४-कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चालु संसद अधिवेशन अझै केही समय चल्ने बताउनुभएको छ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री शर्माले चालु संसद अधिवेशन केही समय अझै चल्ने बताउनुभएको हो।उहाँले यो संसदले धेरै कानूनहरू बनाउन बाँकी रहेको उल्लेख गर्दै सम्भव भएसम्मका कानूनहरू बनाइने बताउनुभयो।

मन्त्री शर्माले राज्यको विभिन्न क्षेत्रमा अझै पनि सकारात्मक विभेद आवश्यक रहेको बताउनुभयो।उहाँले राजनीतिक क्षेत्रको अलावा लोकसेवा आयोगले समेत सकारात्मक विभेदको व्यवस्था गरेको भन्दै अरु ठाउँहरुमा पनि सकारात्मक विभेद गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले हरेक कानूनहरू लैंगिक समतायुक्त बनाउनुपर्ने बताउनुभयो।महिलाको मर्यादालाई अवमूल्यन गर्ने हानिकारक सामाजिक अभ्यास र कुप्रथाविरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।