आज देखि महेन्द्रनगरमा रामलिला मञ्चन हुने

इन्द्र कार्की
महेन्द्रनगर,असोज,१९     आज देखि महेन्द्रनगरको खुला मञ्चमा रामलिला मञ्चन हुने भएको छ । रामलिला समिती कञ्चनपुरको आयोजनामा रामलिला मञ्चन हुन लागेको हो । रामलिला मञ्चनको लागि सवै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । रामलिला समितिका महासचिव शमरजंग वहादुर चन्दले रामलिलाको तयारी अन्तिम चरणमा पुगेको वताए । उनका अनुसार रामलिलाका कलाकारहरुको तीन महिने तालिम पछि सवै तयारी अवस्थामा रहेका छन् । मञ्च व्यवस्थापनको काम समेत तिव्र रुपमा अघि वढेको छ । रामलिला सभ्य, भव्य बनाउनका लागि ठाउँ ठाउँमा सिसिटिभी क्यामेरा समेत जडान गरिने चन्दले वताए । यसपटकको रामलिला विगतमा मञ्चन भएका रामलिला भन्दा केहि फरक रुपमा मञ्चन हुने उनले वताए । रामलिलाको सम्वाद नेपालीमा हुनेछ  भने कथाको माग अनुसार रामलिलाका पात्रहरुमा समेत फेरवदल गरिने छन् । परम्परागत मुल्य,मान्यता र धर्म संस्कृतिको संरक्षणका लागि प्रत्येक वर्ष रामलिला आयोजना गर्ने गरेको चन्दको भनाई छ । रामलिलाको निर्देशन भने भीम पन्तले गर्ने भएका छन् । रामलिलाका लागि बरिष्ठ अनुभवी व्यक्तित्वका रुपमा परिचित पन्तले विगत लामो समय देखि रामलिला निर्देशन गर्दै आएका छन् । धार्मिक ,परम्परागत एवं पर्यटकिय क्षेत्रको विकासका लागि रामलिला फलदायि हुने रामलिला समिति कञ्चनपुरका अध्यक्ष दान सिह ठकुराठीले विश्वास व्यक्त गर्नुभयो । रामलिला क्षेत्रमा धुमपान ,मध्यपान निषेध गरिएको छ भने दर्शकहरुको उपस्थिति अनुसार रामलिला मञ्चनको समय समेत केहि फेरबदल गरिने आयोजकले जानकारी दिएको छ । आज साँझ ६ वजे महायज्ञ गरि उद्घाटन गरिने रामलिला कार्तिक २ गते समापन हुनेछ ।