भारतको सिलीगुढीमा पक्राउ गरिएका नेपाली युवालाई तत्काल रिहा गर्न माग

काठमाडौं, साउन २६-

गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतको सिलीगुढीमा पक्राउ परेका नेपाली युवालाई तत्काल रिहाइ गर्न परिवारले माग गरेका छन् ।आमाको उपचारका लागि सिलिगुढी पुगेका सूर्योदय नगरपालिका–१० फिक्कलका २७ बर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुढी मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको हो ।

फागोका परिवारले आन्दोलनकारीसँग अनुहार मिलेको भन्दै निर्देष ब्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेर अन्याय गरेको भन्दै रिहाइको पहल गरिदिन बुधबार जिल्ला प्रशास कार्यालय, इलाम तथा पत्रकार र मानवअधिकारकर्मीहरुसँग माग गरेका छन् ।फागोका दाजु शरन फागोले बुधबार जिल्ला प्रशासन पुगेर उजुरी दिएका छन् । साथै पत्रकार तथा मानवअधिकारकर्मीहरुलाई पनि रिहाइको पहल गरिदिन आग्रह गरेका छन् ।

आमा गंगामाया फागोले गोर्खाल्याण्ड आन्दोलनबारे कुनै चासो नै नभएको विषयमा छोराको संलग्नता भनेर प्रहरीले फसाउन खोजेको छ, यो मानवअधिकारको चरम उल्लंघन हो, भनेकी छन् ।उनले आफ्नो छोरालाई विनाशर्त र सकुशल तत्काल रिहाइको माग गरेकी छिन् । फागोलाई १२ दिनसम्म हिरासतमै राखिने र २० अगष्टमा अदालतमा उभ्याइने बंगाल प्रहरीले जनाएको छ ।

गत जुलाई २९ तारिखमा आन्दोलनका क्रममा दार्जिलिङको सुकुनामा भएको झडपमा सामेल भएको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।सुकुनामा भएको आन्दोलनमा प्रदर्शनकारीहरुले खुकुरी जुलुस निकालेका थिए ।सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा दर्जनौं प्रहरी समेत घाइते भएका थिए ।ईमेजखबरबाट