
काठमाडौं,जेठ,१-नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उपाधि भिडन्त साँझ साढे ५ बजे सुरु हुनेछ।काठमाडौं र धनगढी यस प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् ।
यस अघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्न लागेका हुन्।दुबै भेटमा काठमाडौं धनगढीसँग पराजित भएको थियो ।
प्रतियोगिताको फाइनल अघि दुबै टिमका कप्तान र प्रशिक्षक उपाधि जित्ने योजनासहित मैदान उत्रने बताईसकेका छन् ।
उपाधि भिडन्तमा दुबै टोलीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सहित युवा खेलाडीको साथ रहेको छ । तर, फाइनलमा दुबै टोलीलाई चोटले सताउने छ ।
धनगढीका अट्याकर आफिज ओलावाले र काठमाडौंका संजोक राई पूर्ण रुपमा फिट रहने छैनन् ।
धनगढीलाई कप्तान तथा आईकोनीक खेलाडी किरण कुमार लिम्बु, मार्की खेलाडी विशाल राई, डिफेण्डर दिनेश राजबंशी, निशान खड्का, अशोक खवास, फ्रान्कलिन टल्ला, ओलावाले आफिज, दर्शन गुरुङ, पुजन उपरकोटी लगायत खेलाडीको साथ रहनेछ ।
यस्तै काठमाडौंलाई कप्तान तथा मार्की विकेश कुथु सहित तेज तामाङ, छिरिङ गुरुङ, सुदिल राई, विश्वास श्रेष्ठ, मेसौके ओलुमोउ, स्टेफन बिनोङ आशिष गुरुङ लगायत खेलाडीको साथ रहेको छ ।
फाइनल खेलमा प्लेयर्स टु वाचमा धनगढीका दिनेश राजवंशी र काठमाडौंका लागि गोलरक्षक विकेश कुथु रहनेछन् ।
दिनेश राजवंशी (धनगढी एफसी)
राष्ट्रिय खेलाडी दिनेश राजवंशी जारी लिगमा धनगढीको सेन्टर डिफेन्सको भूमिकामा खेलिरहेका छन्।यस अघि उनि राईट डिफेन्समा खेल्दै आईरहेका थिए ।तर, टोलीको आवश्यक्ता अनुसार सेन्टरमा खेलिरहेका दिनेशको प्रदर्शन प्रभावशाली रहँदै आएको छ । विपक्षी अट्याकरलाई चल्न नदिन उनि धनगढीको डिफेन्स लाईनमा पूरा समय छाईरहेका हुन्छन्।त्यसैले फाइनलमा पनि उनको प्रभाव जम्नेछ ।
अक्सनमा दिनेशलाई ललितपुर र धनगढीले अधिकतम २ लाखमा बिट गरेका थिए । गोलाप्रथामा भने उनी धनगढीका लागि भाग्यशाली रहे ।
नेपालको उमेर समूह तथा राष्ट्रिय टोलीबाट नियमित स्थान बनाउँदै आएका दिनेशले आफ्नो अनुभव फाइनलमा देखाउनेछन् । उनीसँग घरेलु लिगमा नेपाल पुलिस, मनाङ मर्स्याङ्दी गायत क्लबबाट खेलेका अनुभव छ ।
फाइनलमा विदेशी डिफेण्डर फ्रान्क्लिन टलाको साथ रहँदा २२ वर्षे दिनेशलाई काठमाडौंका मेसौके ओलामोउ, स्टेफन विलोङ, तेज तामाङ जस्ता खेलाडीले चुनौती पेश गर्नेछन् ।
विकेश कुथु (काठमाडौं रेजर्स)
विकेश कुथु काठमाडौं रेजर्सका लागि तीन भूमिकामा रहेका छन् । पहिलो मार्की, दोस्रो कप्तान तथा तेस्रो गोलरक्षक । उनी आफै भन्दै आईरहेका छन्, ‘यो मेरो लागि ठुलो जिम्वेवारी र अवसर पनि हो ।’ पहिलो पटक आफ्नो कप्तानीमा कुनै प्रतियोगिताको उपाधिका लागि खेल्दै गर्दा काठमाडौंका लागि कुथु महत्वपूर्ण खेलाडी हुनेछन् ।
नेपाल राष्ट्रिय फुटबल टोलीका लागि १२ औं तथा १३ औं दक्षिण एसियाली प्रतियागिता (साग) उपाधि जित्दा विकेशनै टोलीका महत्वपूर्ण खेलाडी हुन्।जसको अनुभव उनले फाइनलमा लिन सक्छन् । विकेशलाई घरेलु लिगमा मध्यपुर युथ एसोसिएसन तथा त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलेको अनुभव छ ।
उपाधिका लागि खेल्दै गर्दा विकेशलाई धनगढीका अट्याकर आफिज ओलावाले, दर्शन गुरुङ, सौजन राई, बुद्ध बल तामाङ, पुजन उपरकोटी, विशाल राई जस्ता खेलाडीले चुनौती दिनेछन् ।