अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता आज हुने

काठमाडौं,पुस,२३-

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता हुने भएको छ । यसअघि हिजो हुने भनिएको छलफल हुन नसकेपछि भेटवार्ता आजका लागि तय गरिएको हो ।

एमाले अध्यक्ष ओली केही दिनदेखि अस्वस्थ हुनुहुन्छ । माओवादी केन्द्रका अध्यक्ष दाहालको भरतपुर–काठमाडौ उडान रद्द भएका कारण भेट हुन नसकेको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार आज बस्न लागेको पार्टी एकता समायोजन समितिको बैठक अगाडी दाहाल र ओलीबीच भेटवार्ता हुने भएको छ ।

दाहालसँगको भेटको तयारी स्वरुप ओलीले शारीरिक कमजोरीका बाबजुद माधव नेपाल लगायत पार्टीका वरिष्ठ नेताहरुसँग पार्टी एकता र सरकार गठनबारे परामर्श लिइरहनुभएको छ । आज दुई दलको एकता संयोजन समितिको बैठक पनि बोलाइएको नेताहरुले बताएका छन् ।

निर्वाचन लगत्तै पार्टी एकताको प्रक्रियालाई अगाडी बढाउने बताएका एमाले र माओवादी केन्द्रको एकीकरण प्रक्रिया लम्बिएपछि नेताहरुले छलफललाई तीव्रता दिएका छन् । नेपालवाणीबाट