कांग्रेस महाधिवेशन:नेतृत्व आकांक्षीहरूको एजेण्डाभन्दा पदमा ध्यान

काठमाडौं,भदौ,१२-नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति नजिकिदै जाँदा नेतृत्वका आकांक्षीहरूले आफ्ना गतिविधि थप तीव्र बनाउँदै लगेका छन् । महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु हुन ५ दिनमात्र बाँकी छ ।

संस्थापन इतर रामचन्द्र पौडेल पक्षले महाधिवेशनको वातावरण बन्दै गएको निष्कर्ष निकालेसँगै नेतृत्वका आकांक्षीहरू थप रणनीतिमा लागेका छन् । महाधिवेशन केन्द्रीत विभिन्न मागहरू राख्दै आएको रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिसहितको शनिबार बसेको बैठकले महाधिवेशनको वातावरण बनेको निष्कर्ष निकालेको छ ।

संस्थापन इतर पक्षको यो निष्कर्षसँगै नेपाली कांग्रेसमा महाधिवेशन केन्द्रीत गतिविधि बढेको देखिन्छ।महाधिवेशन सुनिश्ति नहुँदै नेतृत्वको लागि कसरत थालेका आकांक्षीहरूले महाधिवेशनको तिथि तय भएसंगै थप सक्रियता बढाएका हुन् ।

आंकाक्षीमध्ये कतिपयले त सम्पर्क कार्यालय खोलेर गतिविधि सुरु गरेका छन् भने अरुको खोल्ने तयारी छ।वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल सकिनुअघि नै नेतृत्वका लागि कसरत हुन थाले पनि दृष्ट्रिकोण, नीति , कार्यक्रम र विचारको सन्दर्भमा कुनै पनि आकांक्षीले छलफल गरेका छैनन् ।

आसन्न महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्न आधा दर्जनबढी नेताहरूले आकांक्षा देखाए पनि कुनै पनि आकांक्षीले एजेण्डा दिन सकेका छैनन् । राजनीतिक विश्लेषक प्रा.डा.लोकराज बराल अहिले देखिएका नेतृत्वका आकांक्षीमध्ये कसैले पनि गुणात्मक परिर्वतन ल्याउन नसक्ने दावी गर्नुहुन्छ ।

कांग्रेसभित्र मुख्यगरी तीन गुट अस्तित्वमा रहेका छन् । पार्टी सभापति शेरवहादुर देउवा गुटबाट देउवासहित ३ जना, संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट पौडेलसहित ५ जना र तेस्रो धारको नेतृत्व गरिरहेका कृष्ण सिटौलाले पनि नेतृत्वका गतिविधि बढाइरहेका छन् ।

तर, संस्थापन होस् या इतर पक्षका कुनै पनि आकांक्षीहरूले पार्टीको नेतृत्व गर्ने बाहेक कुनै एजेण्डा ल्याउन सकेका छैनन् । नेपाली कांग्रेसका नेता लोकेश ढकाल नेतृत्वका लागि मनोगत तर्क गर्ने बाहेक कुनै पनि आकांक्षीसँग आगामी नीति,कार्यक्रम र दृष्ट्रिकोण नभएको जिकिर गर्नुहुन्छ ।

आफ्नो समूहबाट सहमतिमा नेतृत्व प्रस्तुत गर्न पटक–पटक गुटगत भेला भए पनि सार्थकता पाउन सकेको छैन् । संस्थापन र संस्थापन पक्षका आकांक्षीहरूबीच को भन्दा को ठूलो भन्ने मानसिकता कायमै छ । आगामी महाधिवेशनबाट जसले नेतृत्व हत्याउन सफल भए पनि पार्टी र समग्र मुलुकको लागि तात्विक भिन्नता नआउने स्वयं कांग्रेसकै नेता तथा कार्यकर्ता बताउँछन् ।ईमेजबाट