बिपन्न बिद्यार्थीका लागि उपचारात्मक कक्षा संचालन

नेपालगञ्ज,कार्तिक,७-

आर्थिक हिसाबले अध्ययनमा समस्या देखिएका बिद्यार्थीहरुका लागि बाँकेमा उपचारात्मक कक्षा संचालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न बिद्यालयमा अध्ययनरत र समस्यामा देखिएका त्यस्ता बिद्यार्थीहरुको सहजताका लागि उपचारात्मक कक्षा संचालन गरिएको हो ।

आर्थिक तवरले बिपन्न, आदिवासी जनजाति तथा पछाडि परेका समुदायका बिद्यार्थीहरुको पढाई निरन्तरता र उनीहरुमा आत्मबिश्वास बढाउन यस्तो कक्षा संचालन गरिएको जनाएको छ । बिद्यालयहरुको समन्वयमा सामाजिक बिकास मंच (एस.डि.एफ) बाँकेले कक्षा संचालन गरेको शिक्षकले जनाएका छन् । शिक्षकका अनुसार यस्तो कक्षाले बिद्यार्थीहरुलाई अध्ययनमा सक्रिय बनाएको देखिएको छ ।

सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी बढिमा निम्न वर्गिय नै हुन्छन महेन्द्र माबिका शिक्षक संजिव कुमार सिंघले भन्नुभयो आर्थिक अभावले त्यस्ता बिद्यार्थी पढ्न पाउँदैनन, यस्तो कक्षाले उनीहरुमा क्षमता बृद्धि पनि गर्छ । बिद्यार्थी केन्द्रित कक्षा संचालन गरिने हुँदा यो अवसरबाट उनीहरु उत्साहित देखिएको सिंघलले बताउनुभयो । सिंघलले ८ कक्षाका २० जना बिद्यार्थीलाई अंगे्रजी बिषयमा अध्यापन गराउनुहुन्छ भने महेन्द्रमै बिज्ञान बिषयको कक्षा पनि संचालित छ ।

नेपालगञ्जको सरस्वती माध्यमिक बिद्यालय, धम्बोझी माध्यमिक बिद्यालय, महेन्द्र नमूना माध्यमिक बिद्यालय, मंगल प्रसाद माध्यमिक बिद्यालय, फुल्टेक्रा माध्यमिक बिद्यालय, युद्ध संस्कृत माध्यमिक बिद्यालय र नारायण माध्यमिक बिद्यालयमा गरी १४ वटा कक्षामा ३५० जना बिद्यार्थीहरुले अध्ययन गर्ने अवसर पाएको मंचका कार्यक्रम अधिकृत भूपाल सिंह बोहराले जानकारी दिनुभयो । प्रत्येक कक्षामा २५ जना बिद्यार्थी सहभागि छन् ।

८ कक्षा र ९ कक्षाका बिद्यार्थीहरुका यस्तो कक्षा तीन महिनासम्म संचालन गरिएको छ । जोखिममा रहेका बिद्यार्थी पहिचान गरि आवश्यकता अनुसारको बिषयहरुमा उपचारात्मक कक्षा संचालन गरिएको मंचका सुपरभाईजर सहजराम यादवले जानकारी दिनभयो । सेभ द चिल्ड्रेनको साझेदारीमा युवा शशक्तिकरण बुलगारी परियोजना अन्तर्गत मञ्चले सन २०१६ देखि यो कार्यक्रम संचालनमा ल्याएको हो । हालसम्म दुई सय जना बिद्यार्थी यो कार्यक्रमबाट लाभान्वित भइसकेको जनाइएको छ ।