नेपाल सरकारले तोकेको न्यूनतम तलबभत्ता नपाए पछि मजदुरहरु आन्दोलनमा

बाँके,कार्तिक,६-
नेपाल सरकार श्रम मन्त्रालयले गत श्रावण महिना देखि लागु हुने गरी मजदुरहरूको न्युनतम पारीश्रमिक मासिक रु १३४५० तोकेकोमा उक्त तलबभत्ता नदिएको भन्दै बाँकेको जानकी गाउँ पालिका खजुरा स्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका मजदुरहरु अाजबाट अान्दोलनमा उत्रिएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला कमिटीको सहयोगमा त्यहाँ कार्यरत रहेका मजदुरहरु अान्दोलनमा उत्रिएको अखिल नेपाल कृषि मजदुर संगठन जानकी गाउँ पालिका क्षेत्रीय कृषि अनुसन्धान केन्द्र कमिटीका अध्यक्ष भरत नेपालीले बताउनुभयो ।

श्रावण महिना देखि राजपत्रमा प्रकाशित गरेको न्युनतम पारीश्रमिक कार्तिक लाग्दा सम्म पनि कृषि मन्त्रालय अन्तर्गतका कार्यालयमा तलबभत्ता नखुवाएकोले मजदुरहरूको हकहित र तलबभत्ता दिलाउनका लागि अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला कमिटीले सहयोग गरेको जिल्ला सचिव राजकुमार बि-सी-ले बताउनुभयो ।

मजदुरहरुलाई नेपाल सरकारको श्रम मन्त्रालयले तोकेको तलबभत्ता नेपाल सरकार मातहतकै कृषि मन्त्रालय निकटका कार्यालयमा नखुवाउनु हास्यास्पद रहेको जिल्ला अध्यक्ष बसन्त मल्लले बताउनुभयो । अहिलेको पारीश्रमिक नीजि क्षेत्रमा कार्य गर्ने मजदुरहरुले पाए नपाएको नीरिक्षण नेपाल सरकारको श्रम कार्यालयले गर्नु पर्नेमा अधिकांश ट्रेड युनियन नेताहरुले जोड दिएका थिए ।