विश्वकप छनोट:आज राती ९:४५ बजे नेपाल र जोर्डनबिच खेल हुने

फाईल तस्विर !!

काठमाडौं,जेठ,२४-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो राष्ट्र जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ।जोर्डन र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।यस्तै जापान समय अनुसार भने खेल राती १ बजे सुरु हुनेछ ।

जोर्डनविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजना हुनेछ । अघिल्लो खेलमा चाईनिज ताईपेलाई हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ । तर, बलियो प्रतिद्वन्दी जोर्डनलाई हराउन नेपालको लागि कठिन हुनेछ ।

जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ ।नेपाल ६ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । तर, नेपालको नतिजा सुखद छैन ।नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ ।

हेड टु हेड –

विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो । जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९-० ले पराजित भएको थियो ।जोर्डनका हसन अब्देल फाथले चार गोल गरेका थिए ।

तर, २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो । त्यहि नै जोर्डनविरुद्ध नेपालको सुखद नतिजा हो ।

दशरथ रंगशालामा नेपालका लागि भरत खवासले गोल गरेपछि नेपालले बराबरी खेलेको थियो । जोर्डनका अल मुर्जनले गोल गरेका थिए ।

पछिल्लो पटक नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो ।विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।

जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक-एक गोल गरेका थिए ।