नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित

फाईल तस्विर !!

काठमाण्डौं,जेठ,२४-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

कुवेतमा सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो ।जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै याजन अल अरबको नाममा एक गोल रह्यो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा खेलको  २४ औं मिनेटमा बाहा फाइजलले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । जसमा बाहाले सहजै गोल गरे ।

खेलको ४९ औं मिनेटमा बाहा फाइजलले व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई २-० को अग्रता दिलाए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए  ।

त्यसपछि खेलको ६७ औं मिनेटमा डिफेन्डर याजनले हेडरबाट गोल गर्दै जोर्डनलाई ३-० को जित दिलाए  ।

जितसँगै समूह ‘बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ ।अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ ।नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ ।