इन्द्रजात्रा पर्व आज मनाइदै

कुमारी, गणेश र भैरवको रथ घुमाइने

काठमाडौं, भदौ २०-

उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ ।विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तान्ने गरिन्छ ।

रथ तान्नुअघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रप्रमुखबाट जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा रहेको छ ।

यस अवसरमा लाखे नाच, पुलुकिसी नाच प्रदर्शन गरिन्छ । यसपछि सर्वसाधारणको दर्शनका लागि विभिन्न टोलमा रथ घुमाउने चलन छ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङगो ठड्याएपछि इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ ।

यसअघि, तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङगलबाट लिंगो काटेर ल्याउने गरिन्छ । लिच्छवी कालदेखि यो पर्व मनाउन थालिएको हो ।ईमेजखबर