बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना

पाइलट गुरूङको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं,जेठ,१६

 नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते हुनुभएको छ ।

गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिनुभयो । घाइते भएका सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आलेलाई थप उपचारका लागि अहिले नेपालगंज पठाइएको छ ।

सुुर्खेतबाट खाद्यान्न लिई हुम्ला, सिमीकोटका लागि उडेको सो जहाज अवतरण हुन नसकेपछि कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा दुर्घटनामा परेको हो । अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज धान खेतमा पल्टिएको छ । दुर्घटनापछि जहाजमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए ।

गम्भीर घाइते खड्का र आलेलाई उपचारका लागि सीता एयरको जहाजबाट अहिले नेपालगन्ज लगिएको छ । घाइतेसँगै पाइलट गुरुङको शवसमेत नेपालगन्ज लगिएको छ ।