पहिलो प्रदेश प्रमुख: को कस्ता छन्

काठमाडौं माघ,३-

आज अपरान्ह बसेको मन्त्री परिषदको बैठकले ७ वटै प्रदेशका प्रदेश प्रमुखहरु चयन गरेको छ। नियुक्त गरिएका प्रदेश प्रमुखहरुमा प्रदेश- १ मा प्राध्यापक गोबिन्द सुब्बा, प्रदेश- २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश-३ मा अनुराधा कोइराला, प्रदेश-४ मा बाबुराम कुँवर, प्रदेश-५ मा उमाकान्त झा, प्रदेश-६ मा दुर्गाकेशर खनाल र प्रदेश-७ मा मोहनराज मल्ल छन्।

उनीहरुको राजनीतिक र व्यवसायिक पृष्ठभूमि निम्न बमोजिम छ :

प्रदेश- १ : गोबिन्द सुब्बा
धनकुटा घर भएका सुब्बा पेशाले प्राध्यापन गर्छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा रहेका सुब्बा नेपाली कांग्रेसको महासमिति सदस्य समेत हुन्।

प्रदेश–२ : रत्नेश्वरलाल कायस्थ
नेपाल सरकारका सचिव भइसकेका पूर्व प्रशासक हुन्। उनी पहिलो संविधान सभाको सदस्य थिए, तत्कालिन मधेशी जनअधिकार फोरमको तर्फबाट। पहिलो मधेश आन्दोलनपछि फोरम प्रवेश गरेका उनी पार्टीका सचिव समेत भए।

प्रदेश- ३ : अनुराधा कोइराला
माइती नेपालको अध्यक्ष रहेकी कोइराला पनि पूर्वमन्त्री हुन्। राजा ज्ञानेन्द्रको शाही शासनकालमा सहायकमन्त्री भएकी थिइन्। चेलीबेटी बेचबिखन र उनीहरुको पुनस्र्थापनामा भूमिका खेलेकी कोइराला प्रतिनिधि सभा निर्वाचन भन्दा केही समयअघिमात्र कांग्रेस प्रवेश गरेकी हुन्।

प्रदेश-४ : बाबुराम कुँवर
प्रदेश–४ का लागि प्रमुख नियुक्त गरिएका कुँवर लामो समय कानूनी व्यवसायमा बिताएका व्यक्ति हुन्। नेपाली कांग्रेससम्बद्ध डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को अध्यक्ष समेत भइसकेका बरिष्ठ अधिबक्ता कुँवर सुशील कोइराला प्रधानमन्त्री छँदा महान्यायाधिबक्ता थिए।

प्रदेश-५ : उमाकान्त झा
झा मन्त्री समेत भइसकेका पूर्व प्रशासक हुन्। झा २०७० को संविधान सभा निवाृचन गर्न गठन गरिएको खिलराज रेग्मी नेतृत्वको मन्त्री परिषदमा मन्त्री थिए। नेपाल सरकारको सचिव भइसकेका झा हाल राष्ट्रिय जनता पार्टीको महामन्त्री छन्।

प्रदेश-६ : दुर्गाकेशर खनाल
पछिल्लो समय राष्ट्रिय राजनीतिमा त्यति चर्चामा नरहेपनि खनाल मध्यपश्चिम क्षेत्रका पुराना कांग्रेस नेता हुन्। सुर्खेत निवासी खनाल २०४८ को पहिलो आम निर्वाचनपछि नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए। उनी अहिले जिल्लाको राजनीतिमा सक्रिय छन्।

प्रदेश- ७ : मोहनराज मल्ल
पञ्चायतकालीन संसद राष्ट्रिय पञ्चायतमा कैलालीबाट चुनिएका मल्ल पञ्चायतभित्र उदारवादी पञ्चका रुपमा चिनिन्थे। बहुदलकालिन र ०६४ को संविधान सभा चुनाव समेत राप्रपाबाट लडेका उनी दोस्रो संविधान सभा निर्वाचनपछि नेपाली कांग्रेस प्रवेश गरेका थिए। साभार नेपालखबरबाट