१३औं साग फुटबल: पुरुष तर्फ नेपाल विजयी महिला टोली भारत संग पराजीत

काठमाडौं,मंसिर,२१-

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ ।शनिबार भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १-० को अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा फर्काए । अभिषेकले डिबक्स बाहिरबाट उत्कृष्ट भली गोल गरेका थिए ।

त्यसपछि खेलमा ५१ औं मिनेटमा डिफेन्डर अनन्त तामाङले कर्नर बलमा हेड गोल गर्दै नेपाललाई २-१ को जित दिलाए ।जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । माल्दिभ्सको भने स्वर्ण सम्भावना सकिएको छ ।नेपालले ३ खेलमा ७ अंक जोडेको छ । र, नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले स्वर्ण पदकका लागि खेल्नेछ ।

यसैबिच : महिला फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।पोखरा रंगशालामा शनिबार भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन बालादेबीले निर्णायक गोल गरिन् । उनले खेलको १८ औं मिनेटमा गोल गरेकी हुन् ।

लिग चरणको अन्तिम खेलमा पराजित भएसँगै नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ ।अब नेपालले स्वर्णको लागि भारतसँगै खेल्नेछ ।