१३औं साग फुटबल: आज महिला टोलीले भारत र पुरुष टोलीले माल्दिभ्स संग खेल्ने

काठमाण्डौं,मंसिर,२१-

१३औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलतर्फ आज नेपालको महिला र पुरुष दुवै टोलीले आ–आफ्नो खेल खेल्दैछन् । 

पोखरा रंगशालामा आज २ बजे महिला फुटबलतर्फ दुई दावेदार नेपाल र भारत पनि आमने सामने हुँदैछन् । पछिल्ला दुई खेलहरुमा जित हात पारेका नेपाल र भारतले यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

साथै आज यी दुई टोलीबीचको खेललाई फाइनल खेलको तयारीका रुपमा समेत हेरिएको छ । स्मरण रहोस, गत संस्करणतर्फ पनि महिला फुटबलको फाइनलमा यी दुई टोली नै भिडेका थिए । त्यतिबेला नेपाल पराजित हुँदै रजत पदकमा सिमित बनेको थियो ।

यसैबिच : पुरुष फुटबलतर्फ नेपालले आज माल्दिभ्ससँग दशरथ रंगशालामा दिनको १:३० बजे खेल्दैछ । नेपाल र माल्दिभ्स दुवैका लागि यो खेल महत्वपूर्ण छ । अंकतालिकामा ४ अंक जोडेको नेपालले आज माल्दिभ्ससँग हराउन सके लगभग फाइनल स्थान पक्का गर्नेछ ।

उता भुटानसँगको हार पश्चात् दुई अंक मात्र जोडेको माल्दिभ्सले जारी प्रतियोगिताको स्वर्ण पदकको सम्भावनालाई काम राख्न आजको खेलमा आफु अनुकुल नतिजा ल्याउनु पर्नेछ । जुन पाहुना टोलीलाई नेपाल विरुद्ध केही कठिन पर्ने देखिन्छ ।

त्यस्तै ६ अंक जोडेको भुटान भने अंकतालिकाको शिर्ष स्थानमा छ र शनिबार श्रीलंकासँग बेलुका ५ः३० बजे दशरथ रंगशालामै भिड्दैछन् । सार्क राष्ट्रका कुल पाँच देशहरुले सहभागिता जनाइरहेको प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा जारी छ । साथै, शिर्ष स्थानमा रहने दुई टोली फाइनलमा भिड्ने छन् ।