निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ : अध्यक्ष दाहाल

काठमाडौं,साउन,६-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र)ले गर्ने दाबी गर्नुभएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गर्नुभयो।उहाँले नेकपा माओवादीमा पुनः एकपटक पुनस्र्थापित हुने दाबी गर्दै माओवादी पार्टी पुनः स्थापित हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने बताउनुभयो ।

अध्यक्ष दाहालले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता/कार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले नेकपा माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले नेकपा माओवादी पार्टीकै जोडबलमा आज संघीय संसदबाट नागरिकताबारे निर्णय हुन लागेको बताउनुभयो ।