पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अझै सुचारु हुन सकेन

कास्की,जेठ,७-
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ को मतगणनाका क्रममा फर्जी मत भेटिएको आरोप लगाउँदै एमाले बाहेक दलका प्रतिनिधिहरु बाहिरिएपछि शनिबार दिउँसोबाट स्थगित मतगणना अझै सुरु हुन सकेको छैन।

पोखरा १७ मा १५ सयभन्दा बढी मत गणना भएपछि फर्जी मत भेटिएको भन्दै कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मतगणना बहिस्कार गरेका हुन्।

सूर्य चिन्हमा फरक रंग र फरक स्वस्तिक छापसहित एउटै मतपत्रमा मतदान अधिकृतको दुईवटा हस्ताक्षर भेटिएपछि मतगणना स्थगित गर्न माग गरिएको मतगणनामा खटिएका कांग्रेस प्रतिनिधि युवक लामिछानेले बताए।

फर्जी मतबारे अनुसन्धान हुनुपर्ने र सत्यतथ्य बाहिर आएपछि मात्रै मतगणना सुरु गर्नुपर्ने कांग्रेसको माग छ। साथै वडा नम्बर १७ को विवाद टुङ्गो नलागेसम्म अन्य वडाको पनि मतगणना हुन नदिने उसको अडान छ। साथै एमाले बाहेकका दलहरुले विवादित वडामा पुनस् निर्वाचनको मागसमेत गरेका छन्।

३३ वडा रहेको पोखरालेखनाथ महानगरको १४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भैसकको छ। स्थगित हुँदा वडा नं। १४, १६, १७, १८ र १९ को मतगणना जारी थियो।

निर्वाचन आयोगले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन। क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले पार्टी प्रतिनिधीहरुसँग बैठक चलिरहेकाले केहीबेरमा मतगणना सुरु हुने दाबी गरे।

फर्जी मत नभएको उनको जिकिर छ। फर्जी भनिएको मतपत्रमा साविकको भन्दा चाक्लो स्वस्तिक छाप देखिएको सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले स्वीकारेका छन्।